काठमाडौं । पछिल्लो समय नेपाली सेनाको उच्च तहमा उमेर विवाद नियमित प्रकरण नै बनेको छ । एकदलीय पञ्चायती शासन छँदा सेना राजाको खटनपटनमा चल्ने भएकोले त्यतिबेला यस्ता विवादहरू बाहिरिने सम्भावनै थिएन । तर, प्रजातन्त्र पुनस्र्थापनापछि सेनामा पनि खुलापन बढ्दै जाँदा प्रधानसेनापतिको रोलक्रममा बस्ने जर्नेलहरू (सहायकरथी, उपरथी र रथी)को पदोन्नतिमा उमेर विवाद र शैक्षिक योग्यता कीर्तेका घटना उजागर हुँदै आएका छन्, यसमा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल राजाको १९ महिने प्रत्यक्ष शासनमा पदोन्नति भएकोले अपवादको रूपमा देखिएका थिए ।
पछिल्लो समय धेरै सहायकरथी र उपरथीहरूको बढुवामा उमेर सच्याएका कारण राजीनामाको लहर नै चल्यो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको प्रधानसेनापति (महारथी) बन्न जर्नेलहरूले आफ्नो उमेर ढाँटेको शृंखला एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । बढुवाका लागि ठिक्क परेका र पारिएका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादकै कारण राजीनामा दिएको एक महिना बित्दा नबित्दै नेपाली सेनाको बढुवा समितिले रथीको लागि सिफारिस गरिएका उपरथी अशोकराज सिग्देलले पनि उमेर सच्याएको प्रमाणहरू देशान्तरलाई प्राप्त भएको छ ।
जंगी अड्डाबाट रक्षा मन्त्रालय हुँदै रथीमा बढुवाका लागि मन्त्रिपरिषद्मा पु¥याइएका सिग्देलले पनि चार वर्षअघि मात्रै आफ्नो उमेर सच्याएको खुलेको छ । उनको जन्ममितिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमाणसहित उजुरी परेको छ भने अख्तियारले त उनको जन्ममितिमा विवाद देखिएको रायसहितको पत्र रक्षा मन्त्रालयमा पठाइसकेको बुझिएको छ ।
देशान्तरसँग कुरा गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि उपसमिति बनाएर छानबिन अगाडि बढाउने बताए । सिग्देलको ४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको प्रमाण अख्तियारले फेला पारेको छ । उनको वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएकोमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा सच्याएर २०२३ माघ १९ गते बनाएको बताइएको छ ।
२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा किर्ते गरेको स्रोतको दाबी छ । सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ । त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।
सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । उनले एसएलसी २०३९ सालमा दिएको र सिम्बल नम्बर ८८०५९ डब्ल्यू परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको रेकर्डबाट देखिन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।
प्रमाणपत्र किर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । तर, उनीभन्दा उमेर विवाद बढी भएका सिग्देल भने भारतीय गुप्तचर संस्था ‘रअ’को खास मान्छे भएको कारण सरकारले आफ्नो नियुक्तिलाई रोक्न नसक्ने निकटस्थहरूसँग बताउँदै हिँडेका छन् । नेपाली सेनाजस्तो निर्विवाद संस्थामा उमेर सच्याएका जर्नेल प्रधानसेनापति बनाइएमा सरकारकै बदनियत र बदनामी हुने प्रस्ट छ । त्यसैले संसद्को राज्य व्यवस्था समिति र अख्तियारको छानबिनपछिको रायपछि मात्र सिग्देलको बारेमा निर्णय लिनुपर्ने आवाज नेपाली सेना र रक्षामा उठेको छ । जन्ममिति विवाद देखिए पनि सैनिक मुख्यालयले सिग्देलको बढुवाका लागि सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्ले बिहीबार नै सिग्देललाई बढुवा गरिसकेको प्रचार पनि गरिएको छ । तर, स्रोतका अनुसार विभागीय मन्त्री बाहिर रहेकाले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । अख्तियारको राय लिएर मात्र निर्णय गर्ने अन्यथा अंगी अड्डाबाट अर्को सिफारिस माग्ने मन्त्रिपरिषद्को तयारी रहेको बुझिएको छ ।
प्रतिक्रिया