देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सहमतिको सरकार आवश्यक 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले मुलुकलाई निकास दिन र जनतामा आशाको सञ्चार गर्न पनि ठूला राजनीतिक दलहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएका छन् । संसद्को तेस्रो दलले सरकार बनाउने कुरा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको बताउँदै पहिलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निकास दिनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य कोइरालासँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी बुझ्ने ?

अहिलेको राजनीतिक घटनाक्रमबाट जनताहरू निराश छन् । नेताहरूले जसरी मुलुकलाई अघि बढाउनुपर्ने थियो, लोकतान्त्रिक अभ्यास जसरी गर्नुपर्ने थियो, त्यो नभएकै हो । नेता र दलहरूको आचरण शैली र व्यवहारका कारणले जनतामा निराशा रहेको पक्कै हो ।  त्यो जनतामा देखिएको निराशालाई फेरि अब आक्रोशित बनाएर एउटा उच्छृंखलतातिर जान्छ कि भन्ने चिन्ता हामीलाई लागेको छ ।  त्यसैले नेताहरूले आफ्ना आचरण शैली र व्यवहारलाई  परिवर्तन गर्दै हिजोका दिनमा जे जति कमी कमजोरी भएको छ त्यसमा नेताहरूले सुधार गर्नुपर्ने बेला आएको छ ।

यो सुधार गर्ने कसले र कहाँबाट सुरु गर्ने ?

ठूला दलहरू, जो नेतृत्वमा छन् अहिलेसम्म जसरी जानु भएको छ यसले देशको लोकतन्त्र बलियो बनाउँदैन । नेताहरूकै कारणले यो मुलुक अहिले यो अवस्थामा आएको हो । आज जनता एउटा व्यक्तिले आह्वान गर्दै गर्दा हजारौं जनता सडकमा आउने भनेको जसले आह्वान गर्‍यो उसले जनतालाई केही गरिदिएको कारणले होइन, दलहरूप्रतिको वितृष्णा हो । त्यसैले हिजो दलहरूले आफूले गरेको कमी, कमजोरीलाई आत्मसात् गर्दै समीक्षा गर्दै आफू सुध्रिन जरुरी छ । जनताहरू सुध्रिएर र सबै पार्टीहरू जसरी चलेको छ त्यसमा करेक्सन गर्नका लागि नयाँ तरिकाले सोच्न ढिला गर्नु हुँदैन ।

आमनिर्वाचन भएको पनि वर्ष भयो, यो बीचमा जनताले के पाए त ? 

जनताले केही पाइदिएको भए, दलहरूले राम्रो गरिदिएको भए नेताहरूले राम्रो गरिदिएको भए आज यो मुलुकमा यस्तो अवस्था आउने थिएन । निश्चय नै जनताले केही पाएको छैन । दलहरू जसरी अघि बढ्नु पर्ने थियो त्यसरी बढेकै छैनन् । अहिलेको आक्रोश सडकमा त्यसकै रूप हो ।

अहिले त व्यवस्थामाथि नै चुनौती दिने कुराहरू आइरहेका छन् त ?

अहिले जनतामा देखिएको निराशालाई सम्बोधन गरिएन भने, नेताहरूले पुरानै शैलीलाई निरन्तरता दिने हो भने । नेपाली कांग्रेस, एमाले र माओवादी मिलेर अब हामीले हिजो गल्ती गरेकै हो, जनताका भावना सम्बोधन गर्न नसकेकै हो, भनेर नसोच्ने यसरी नै बहुलठ्ठी पाराले गए भने सडकबाट सिस्टममाथि चुनौती त म देख्छु ।

चुनौती सामना गर्न ठूला भनिएका दलहरू एक ठाउँमा आउने भन्न खोज्या ?

ठूला भनिएका दलहरू किन र केका लागि आउने, बाँडीचुँडी खान र जनताका भावना दबाउन एक ठाउँमा आउने कि, हिजो हामीले कमी कमजोरी गरेका थियौं, अब हामी सबै विगतका गल्तीहरूलाई सच्याएर अगाडि बढ्यौं भनेर आउने अहिलेको प्रश्न यो हो । दलहरू आवश्यक पर्दा सबै एक ठाउँमा छन् । तर कस्तो बेला एक ठाउँमा भने बाँडीचुँडी खान, आफ्नो भागबन्डाको लागि आफ्नो प्राप्तिको लागि मात्रै एक ठाउँमा छन् ।  यो गलत कुरा हो । दलहरू र नेताहरू जनता र देशको विकासका लागि एक ठाउँमा हुनुपर्छ । अहिलेको अवस्थामा निराश भएका जनतालाई आशा जगाउन पो नेताहरू एक ठाउँमा आउनु प¥यो । 

अहिलेको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ, भविष्यको संकेत कस्तो देख्दै हुनुहुन्छ ?

चारैतिर अस्तव्यस्त छ । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र कुनै पनि अछुतो छैन । भन्न खोजेको यी क्षेत्रहरूमा सन्तोषको श्वास फेर्न सक्ने अवस्था छैन । यी क्षेत्रबाट नेपाली जनता सन्तुष्ट छैनन् । आर्थिक मन्दी एकतिर छ, अर्कोतिर सामाजिक संरचनाहरू ध्वस्त हुँदैछन् । लोकतन्त्र गणतन्त्रभित्र चरम भ्रष्टाचार, ज्यादती, व्यथिति र हरेक पार्टी नेतृत्वको अलोकतान्त्रिक चरित्र यी सबै कारणले त जनता निराश भएका छन् । कुनै पनि क्षेत्रमा सन्तोषको श्वास फेर्ने अवस्था छैन ।

कसरी राजनीतिक कोर्स करेक्सन गर्ने त ?

पहिलो कुरा त हरेक राजनीतिक नेतृत्वले हामीले हिजो जसरी चल्यो, यो गलतै रहेछ । जनतालाई सन्तुष्ट बनाउन सकेकै रहेनछौं । अब म र हामी सुध्रिन पर्छ । अथवा हामीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर नेताहरूले सोचेनन् भने पुराना ठूला दलका नेतृत्वले विगतका कमी, कमजोरीलाई सच्याएर अघि बढेनन् भने यीहरू पनि समाप्त हुँदैछन् र सिस्टम पनि जाँदैछ । त्यसैले तीन वटा दल एक ठाउँमा बसेर अबको निकास भनेको  राष्ट्रिय सरकार बनाउने हो । अहिले देशमा विषम परिस्थिति आयो । जनता साँच्चै नै निराश रहेछन् । एउटा ब्यक्तिको आह्वानमा हजारौं जनता सडकमा आउनु भनेको सहज र नर्मल अवस्था होइन । जनता यति आक्रोशित भइसकेका छन् भने हामीभित्र कमीकमजोरी रहेछ त्यो खोज्नुपर्छ भनेर खोज्ने । तीनवटा दल एक ठाउँमा हुने । निराश जनतालाई आशा, भरोसा र विश्वास दिलाउन लाग्नुपर्छ । यदि त्यो बाटोमा गएनन् भने पुरानो नेतृत्व त सक्कियो सक्कियो, यसले व्यवस्था पनि संकटमा पर्छ ।

जनता सडकमा आउँदा धरपकड, अश्रुग्याँस प्रहार जुन कुराहरू भएका छन् यसलाई कसरी बुझ्ने ?

सडकमा आएका जनतामाथि जुन किसिमका धरपकड र अश्रुग्याँस प्रहारका कुराहरू भएका छन् यो लोकतन्त्रमा ज्यादै नै बढी भयो । यो राम्रो होइन । जनताका आवाजहरू दबाउने, अनि आफ्ना कुराहरू राख्न नपाउने, ज्येष्ठ नागरिकहरू सडकमा हिँड्दै गर्दा पनि समाउनु पर्ने अवस्था अवस्था हुनुहुँदैनथ्यो । जुन कुराहरू भएका छन् यो एकदमै गलत भएका छन् । जनताले आफ्ना आवाजहरू निर्भीकताका साथ राख्न पाउनुपर्छ । आवाज राख्दैगर्दा उच्छृंखलता हुनु हुँदैन । जो सडकमा आएका छन् ती जनताहरू निराश छन्, दलहरूबाट केही काम भएन । फेरि एक जना व्यक्तिले झुटा आश्वासन र नाराहरू दिएका कारणले गर्दा दुःख पीडामा रहेका जनताहरू कतै केही भइहाल्छ कि भनेर नै सडकमा आएका छन् । जनताहरू पेलिएका छन् र समस्यामा पनि छन्, अनि कसैले झुटा आश्वासन र आशा देखाइदिएको छ । त्यसकै आधारमा सडकमा आएका मानिसमाथि राज्यले दमन गर्नु राम्रो होइन ।

दौरा सुरुवाल र ढाकाटोपी लगाउँदैमा राजावादी हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको हो ?

त्यो गलत हो । त्यस्तो हुनु हुँदैन । नेपाली पोसाक दौरा, सुरुवाल र ढाकाटोपी नेपालीको पहिचान, स्वाभिमान र गौरव हो । विगतमा हाम्रा प्रधानमन्त्रीले जे जति नाटक गरे पनि अहिले नेपाली पोसाक दौरा, सुरुवाल र टोपी लगाएर हिँड्नु भएको छ । नेपाली पोसाक लगाएकै आधारमा समाउने हो भने त राष्ट्रपति र प्रधानमन्त्रीलाई पहिला समाउनु प¥यो । शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोज्न भन्या हिजो पञ्चायतको अन्तिम अन्तिम अवस्थामा मण्डलेहरूले दमन गर्थे त्यस्तै अवस्था हो । 

अहिलेको घटनाक्रम आउनुमा शीर्ष राजनीतिक दलहरूको भूमिका कति ?

सबै प्रमुख राजनीतिक दलहरूको कारण नै यस्तो अवस्था आएको हो । जसरी लोकतन्त्र चलिरहको छ, न्यायालयमा भन्नुस् या अन्यत्र हरेक ठाउँमा राजनीतीकरण भइरहेको छ, न्यायाधीशहरू भागबन्डामा नियुक्त हुने लोकतन्त्रलाई अहिले एउटा पिँजडामा राखिएको छ । लोकतन्त्र सीमित व्यक्तिको प्राप्तिको वस्तु भएको छ । यसको कारणले जनताहरू निराश भएका हुन् । राजनीतिक दलहरूले देश राम्रोसँग सञ्चालन गरेको भए, जनता सन्तुष्ट भइदिएको भए यो अवस्था आउने थिएन । प्रमुख भूमिका राजनीतिक दलहरूकै हो । तर, जसरी यो आन्दोलनमा आवाजहरू उठाइएका छन्, यसले जनतालाई समाधान होइन, झन् पीडा दिँदै छ । उच्छृंखल नाराहरू झुटो आश्वासनहरू, जसले जति ऋण लिएको सबै मिनाहा हुन्छ भन्ने कुरा डरलाग्दा छन् । जनतालाई यो देशमा राज आओस् कि, गणतन्त्र रहोस् कि त्यो केही मतलब छैन । जनतालाई आफ्नो समस्यासँगमात्रै मतलव छ । ऋण लिएका ऋणीहरूलाई आन्दोलनमा आएपछि ऋण मिनाहा हुन्छ भनेर बोलाएर एउटा आशाले आएका छन् । यो यति राम्रो पक्षलाई लाग्दैन । अहिले दुर्गा प्रसाईंले गरेको आन्दोलन छ, यसले इमोसनल ब्ल्याकमेल गरेर जनतलाई फेरि भड्खालेमा हाल्ने खेल हुँदैछ । आन्दोलन गरेपछि ऋण मिनाहा हुन्छ भनेर जसरी प्रचारबाजी गरिएको छ, यो गलत हो । यसैगरी राजा आउ देश बचाउ भन्ने कुरा पनि ब्ल्याकमेल हो । अहिले राजाको पक्षमा उर्लिएको मास पनि होइन । अहिले जनता सडकमा आउनुको मुख्य उद्देश्य ब्ल्याकमेल र दलहरूप्रतिको असन्तुष्टि मुख्य कारण हो । त्यो असन्तुष्टिलाई भजाएर जनतालाई झन् अन्धकारको बाटोमा लैजान हुँदैन । अहिलेको आन्दोलन जनतालाई अर्को पीडा दिनुमात्रै हो । दलहरूले त पीडा दिए दिए, अर्को फेरि झुटा आश्वासन दिएर सडकमा उफार्दै गर्दा यसले अर्को समस्या झन् थपिन्छ ।

पश्चिम नेपाल भूकम्पका कारण पीडामा छ, उद्धार त तत्काल सकियो, तर चिसो बढ्दै जाँदा समस्या थपिँदै गएको छ, अब त्यहाँको समस्या कसरी समाधान गर्ने ?

हाम्रो राजनीति र सामाजिक सञ्जालमा अहिले के लहर चल्यो भने, कुनै घटना घट्छ, त्यो घटनाका कारण कुनै समस्या आउँछ भने त्यसमा ‘इस्टनबाजी’ गर्ने । जाजरकोटमा अप्रिय घटना घट्यो । त्यो घटना घट्दै गर्दा समस्या समाधान कसरी गर्ने भन्दा पनि त्यसलाई कसरी लोकप्रियता मान्ने, कसरी फोटो खिचेर स्टनबाजी गर्ने होडबाजीका कारण अझ हामीलाई समस्या पर्दै छ । जसरी भूकम्प गयो, सबै दलका नेताहरू कोही हेलिकप्टरमा दौडिने, कोही गाडीमा दौडिने फोटो खिच्ने, कोही कार्यक्रम चलाउने हिँड्ने अनि फर्किए पछि सिद्धियो । खास समस्या त अब छ । अहिले चिसो बढ्दै गएको छ, पशु चौपायाहरू मरेका छन्, त्यसबाट रोगहरू लाग्न सक्छन्, विरामी, बृद्ध, बालकहरूलाई चिसोबाट समस्या हुन्छ । यतिखेर राज्यले पनि हेर्नुपर्छ । हामी दलहरू नेताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू मानवअधिकारवादीहरू पनि यतिखेर त्यहाँ गएर सेवा गर्नुपर्छ । नेपाली कांग्रेसले घर निर्माणका लागि काम गरिरहेको छ । अहिले अस्थायी टहराहरू बनाउने अभियानमा नेपाली कांग्रेस व्यस्त छ । तर अरू स्टनबाजी र फोटो खिच्ने र प्रचारबाजीमा लागेका छन् । 

कुराकानीकै दौरान राष्ट्रिय सहमतिको सरका बनाऔं भन्नु भएको थियो, आवश्यकता हो ?

राष्ट्रिय सहमतिको सरकार बनाउन ढिला भइसक्यो । सहमतिको सरकारको विकल्प नै छैन । अहिलेको सरकार लोकतन्त्रको मूल्य र मान्यताविपरीत छ । लोकतन्त्रमा त पहिलो पार्टीले सरकार चलाउने हो, दोस्रो पार्टी प्रतिपक्षमा बस्ने हो । पहिलो पार्टीले सरकार बनाउन नसक्दा दोस्रो पार्टीले पहल गर्ने हो । पहिलो पार्टी प्रतिपक्षमा बस्ने हो । अहिले नेपाली कांग्रेस न सत्तापक्ष न प्रतिपक्ष अवस्थामा छ । ठूलो पार्टी भए पनि संवैधानिक परिषद्मा उपस्थिति नै छैन । यस्तो पनि हुन्छ लोकतन्त्रमा । पहिलो पार्टी प्रतिपक्ष पनि छैन, सरकारको नेतृत्वमा पनि छैन । यो त व्यक्तिवादी हठ र चिन्तन हाबी हुँदा लोकतान्त्रिक मूल्यमान्यता नै स्खलित भएको छ । त्यसैले पनि जनता निराश भएका छन् । त्यसैले अब नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर समस्याको समाधान खोज्नुपर्छ । होइन भने सडकमा निस्किएका आवाजहरू दबाएर धरपकड गरेर समस्या समाधान हुँदैन । यी आवाजहरू क्रमशः बढ्दै जान्छन् र यसले नेताहरू त जान्छन् जान्छन्, सिस्टम पनि जान सक्छ ।

अब नेपाली कांग्रेसको कुरा गरौं ।

तपाईं निर्वाचित केन्द्रीय सदस्य, निलम्बित हुनुभयो, निलम्बन फुकुवा भएर हालैमात्र केन्द्रीय समितिको बैठकमा सहभागिता जनाउनु भयो है ?

दलहरूभित्र जसरी अगाडि जानुपर्ने थियो, दलहरूभित्र जसरी लोकतन्त्रको अभ्यास हुनुपर्ने थियो, दलका नेताहरूले कार्यकर्ताको भावना बुझ्नुपर्ने थियो । दलहरूले ती कुराहरू बुझिदिएको भए, असन्तुष्टि नभइदिएको भए, निर्णय राम्रो गरिदिएको भए दलहरूभित्र पनि असन्तुष्टि हुने थिएन । दलहरू सिस्टममा चलेको भए जनताहरू पनि निराश हुनु पर्ने थिएन । यो देशको अवस्था अर्कै हुने थियो । मेरो दलमा पनि विभिन्न कमी, कमजोरी छन्, ती कमी, कमजोरी लुकाउन सक्दैनौं । तपाईंले उप्काइहाल्नु भयो, म केन्द्रीय सदस्य थिएँ । बहालवाला केन्द्रीय सदस्य हुँदाहुँदै पनि मेरा आफ्ना भावना र विचारहरू पटकपटक मैले राखे, लेखे र दिएँ पनि ।  जसरी एउटा पद प्राप्त गर्नको लागि प्रिइलेक्सन गठबन्धन गर्ने होडवाजी चल्यो ।  पदकै लागि आफ्नो निष्ठा, विचार छोडेर भए पनि कुनै पनि दलसँग कुनै पनि बेला  गठबन्धन गर्ने संस्कार प्रवृत्ति बढ्यो, यो गलत हो । यसले लोकतन्त्र बलियो हुँदैन । जनताहरू पनि सन्तुष्ट हुँदैनन् । आफ्नो पद प्राप्तिका लागि जे पनि गर्ने काम नगरौं भनेर बोल्दै लेख्दै गर्दा पटकपटक त्यसको भिक्टिम म भएको छु ।  २०७४ सालमा चितवनको भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर तीन दिन प्रचार गरिसकेपछि टिकट खोसियो । त्यतिबेला ठीक छ, एकचोटी हो नेताहरूले गल्ती गरे पनि पार्टी सुध्रिएला भनेर मानियो । फेरि पाँच वर्षपछि पनि त्यही प्रवृत्ति दोहोरियो । गठबन्धन नगरौं भनियो ।  त्यहाँ पनि हाम्रो कुराको सुनुवाइ भएन । हुँदाहुँदा संसदीय चुनाव आयो । त्यो क्षेत्रबाट हामी चार जना केन्द्रीय सदस्य छौं ।  हुँदाहुँदै त्यो क्षेत्र प्रचण्डलाई छोड्न पर्ने अवस्था आयो । प्रचण्ड चितवनबाट भागेर गए । उनी भागेर जाँदै गर्दा उनको उत्तराधिकारीको रूपमा नन्पोलिटिकल जागिरे कर्मचारीलाई ल्याएर टिकट दिलाइयो । त्यसले गर्दा कांग्रेसभित्र वितृष्णा भएकै हो । हामी पनि पार्टीभित्रै एउटा दास भएर बस्नुभन्दा विद्रोह गर्नुपर्छ भनेर विद्रोह गरेकै हो ।  विद्रोह गर्दै गर्दा म हिजो जहाँ थिए त्यही थिए । पार्टीले मलाई कतिबेला निकाल्छ, कतिबेला राख्छ, यो त पार्टीको कुरा हो । मैले हिजो पनि जुन आवाज उठाएको थिएँ त्यो आवाजप्रति म अहिले पनि प्रतिबद्ध छु । जसरी दलहरूले ‘प्रि इलेक्सन’ गठबन्धन गर्छन्, त्यो गलत हो । आज पद प्राप्तिका लागि जोसँग पनि मिल्ने कुरा गलत हो । त्यसका लागि विद्रोह गरको हुँ ।

कांग्रेसमा विद्रोह गर्न सुरु भयो है, अहिले त कोशी प्रदेशमा पनि पुग्यो क्यारे ?

चुनावका बेला चितवनमा जसरी विद्रोह भएको थियो । अहिले सरकार बनाउनका लागि कोशी प्रदेशमा भएको विद्रोह त्यसैको विकसित रूप हो । यस्तै अवस्था रह्यो भने हरेक पार्टीमा विद्रोह हुन्छ । नेपाली कांग्रेसमा मात्रै किन, एमालेमा त्यस्तै विद्रोह भयो । पार्टी अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले टिकट नै पाउनु भएन । माओवादीमा प्रचण्डका गुरु मोहन वैद्य किरण, सहयात्री बाबुराम भट्टराई, रामबहादुर थापाजस्ता नेताहरू पार्टीबाट बाहिर रहनु प¥यो । विगतमा एउटै बोलीमा मर्न र मार्न तयार भएका नेताहरूलाई छोडेर कमल थापासँग घाँटी जोडर हिँड्नुपर्ने अवस्था आयो ।  अहिले हरेक पार्टीमा असन्तुष्टि छ । त्यसैको उपज हो । दलका शीर्ष भनिएका नेताहरूको व्यक्तिगत महत्वकांक्षाका कारणले यस्तो अवस्था आइरहेको छ ।

कोशी विद्रोहको बाछिटा अन्य प्रदेशमा पर्ने सम्भावना देख्नुहुन्छ ?

 कोशीकै कारणले बाछिटा पर्छ या पर्दैन त्यो त मलाई थाहा भएन । कोशीको घटना एउटा बाध्यताका उपज हो ।  त्यसको विकल्प अरू केही पनि थिएन । त्यहाँ नेतृत्व पनि चुकेको अवस्था थियो । कांग्रेसको भागमा परेको मुख्यमन्त्री पद पात्रमा नमिल्दा माओवादीलाई दिनु भनेको गलत नै थियो । त्यतिबेला गरिएको विद्रोहले एउटा निकास निस्कियो । त्यतिबेला निकास ननिस्किएको भए, कोशी प्रदेश मध्यावधिमा जानुपर्ने हुन्थ्यो र त्यसले झन् निराश बनाउने थियो । कोशीकै जस्तो कारणले बाहिर अरू प्रदेशमा त बाछिटा पर्दैन, तर सरकार, नेताहरू जसरी अहिले चलेका छन्  यही अवस्था रह्यो भने अवस्था दोहोरिन पनि सक्छ ।

महासमिति बैठक पछाडिको कांग्रेस कस्तो कांग्रेस ?

 महासमितिको बैठकमा पछिल्लो समय जनतामा व्याप्त निराशाका कारण सडकमा आएका विषयहरूमा ब्यापक कुरा उठ्छ । मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने प्रदेश संरचना खारेज गर्नुपर्छ ।  यो विषयमा हामीले नै जोडतोडले माग गर्ने अवस्थामा छौं । यही अवस्थामा प्रदेश रहने हो भने मुलुकलाई आर्थिक व्ययभारमात्रै गराएर अर्थ छैन । प्रदेशमा जति पनि प्रशासनिक खर्च हुन्छ, त्यो रकम गरिब जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका लागि खर्च गर्नुपर्छ । अहिलेको अवस्थामा केन्द्र र स्थानीय निकाय भए पुग्छ ।

स्थानीय निकायलाई मजबुत र बलियो बनाउनुपर्छ । यसैगरी धर्मको बारेमा पनि छलफल गर्नुपर्छ । अहिले जसरी हिन्दुको आवाज उठिरहेको छ, यसलाई बेलैमा सुनेर सम्बोधन गरिएन भने यसले झनै समस्या ल्याउँदै छ । त्यसैले धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता, सनातन बैदिक धर्मलाई अगाडि राखेर हिन्दु बौद्ध मुस्लिम जैन किराँत हिजोदेखि चल्दै संस्कृति र परम्परालाई जगेर्ना गर्दै धार्मिक स्वतन्त्रता अथवा धार्मिक सापेक्षतामा मुलुकलाई लगिएन भने र यो आवाजलाई अहिलेबाटै सम्बोधन गर्न सकिएन भने मुलुकमा खतरा बढ्दै गएको छ । यिनै कुराहरू आसन्न महासमितिको बैठकमा जोडदार उठाएर छलफल गर्छौं । अहिले मुलुकमा देखिएको समस्या समाधानका लागि नेपाली कांग्रेसको महासमितिको बैठकले निर्णय गर्नेछ ।