देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए

देशान्तर


काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ

। गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ । राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार नौ सय ९५ फस्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र छ हजार सात सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् । स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका एक सय २४ कम्पनी र भारतीय सेनाको एक सय २४ टोली परिचालन गरिएको जनाइएको छ ।

उत्तरपूर्वी राज्य मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दङ्गमा ती हजारभन्दा बढी घाइते भएका छन्भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् । भीडले तोडफोड र आगजनी गर्ने क्रममा राज्यमा सयौं घर र पसल जलाएका छन् भने राज्यका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । मणिपुरमा शान्ति पुनःस्थापनाका लागि सङ्घीय सरकारले हालसम्म गरेका प्रयासहरूले अपेक्षित परिणाम ल्याउन सकेको छैन । उक्त राज्यमा सोमबार भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गैरआदिवासी मेइतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा हिंसा भड्किएको हो ।