देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनको जनमत एक सन्देश अनेक


आम निर्वाचनको पाँचै महिनामा सम्पन्न भएको तीनवटा उपनिर्वाचनका परिणाममा तीनमध्ये सबैमा सत्ता समर्थक दलकै विजय भयो । उपनिर्वाचन जितेका दल रास्वपा र जसपा सरकारमा नरहे पनि त्यसका समर्थक हुन् । प्रमुख प्रतिपक्षी दल भने तीनै ठाउँमा तेस्रो रह्यो । यो अर्थमा प्रमुख प्रतिपक्षी दलको यो बेलासम्मको भूमिका कम्तीमा जनमतको परीक्षण भएको क्षेत्रमा मान्य भएन । सत्तापक्षमाथि असन्तुष्टि थियो भने त्यो जनमत विपक्षीतर्फ प्रकट हु्नुपर्ने हो । तर त्यसो पनि भएन । विपक्षी त सबैतिर तेस्रो नै भयो ।

यता सत्तापक्षका लागि पनि यो उपनिर्वाचन धेरै फलिफापी चाहिँ भएन । सत्ता साझेदार दलहरूको विजय भयो तर सरकारले समर्थन गरेका धेरै ठाउँ हार्नेमा परे । जुन दलको विजय भयो ती दल सरकार बाहिर थिए । सत्ताका समर्थकहरूप्रति नै मतदाताको पनि व्यापक समर्थन रह्यो । तर यता त्यही सत्ताको प्रमुख हिस्सेदार दलका उम्मेदवार भने दुईका दुई ठाउँमै पराजित हुनुभयो । खासगरी नेपाली कांग्रेसका लागि यो दृश्य एउटा गतिलो पाठ हुनुपर्छ । सत्ताको नेतृत्व गरिरहेका दलबाट संयुक्त उम्मेदवारी भएका दुईवटै ठाउँमा कांग्रेसले पराजय पायो । रिक्त भएका तीन क्षेत्रमध्ये कांग्रेसबाट दुई ठाउँमा उम्मेदवारी थियो । अवस्था कस्तो भने पाँच महिना अघिकोे आमनिर्वाचनमा कायम भएको मत पनि जोगिएन । त्यसैलाई इंगित गर्दै कांग्रेसका आदरणीय सभापतिबाट परिणामप्रति जस्तो प्रतिकृया आयो, त्यसले कांग्रेसलाई गम्भीर बनाएको बुझाउछ । निर्वाचनको यस्तो परिणाम आउँदाआउँदै उहाँको भनाइ आयो, ‘पार्टीको बलियो सांगठनिक प्रभाव क्षेत्रमै पराजित हुने परिस्थिति बनेको छ । अब कांग्रेस अझ परिस्कृत भएर अघि बढ्नुपर्ने अवस्था आएको छ  । उपनिर्वाचनमा जनताले ठूला दलप्रति वितृष्णा देखाए, हामीले धेरै पहिलेदेखि जित्दै आएको राष्ट्रपतिज्यूको निर्वाचन क्षेत्रमै हारेका छौं, जनताले के चाहन्छन् ? के मागिरहेका छन् ? जनताका मागलाई केन्द्रमा राखेर, जनचाहनामा केन्द्रित भएर पार्टीलाई पनि एक ढिक्का बनाउँदै अघि बढ्नुपर्ने बेला आएको छ ।’

खासगरी यो उपनिर्वाचनमा तनहुँ १ को परिणाम अर्थात् यो क्षेत्रमा नेपाली कांग्रेसको पराजय गम्भीर प्रकारको अर्थदायक छ । उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै आफ्ना मतदाताप्रति जस्ता शब्दले आभार व्यक्त गर्नुभयो त्यसले पनि धेरै कुरा बताउँछ । उहाँले यो क्षेत्रका मतदातालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईंको व्यावहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यस क्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु । चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुसी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नु हुने प्रति पनि आभार प्रकट गर्दछु । सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

कांग्रेसका लागि तनहुँको यो क्षेत्र एउटा निर्वाचन क्षेत्र मात्रै नभएर एउटा ठूलो ऐतिहासिक विरासत बोकेको विशेष प्रकारकै क्षेत्र हो । देशभरि नै कांग्रेस वृत्तमा यो क्षेत्र यसरी परिचित छ । यहीँबाट गएको ४ मंसिरको चुनावमा आदरणीय नेता रामचन्द्र पौडेलले जित्नु भएको थियो । उहाँ अहिले मुलुकको महामहिम राष्ट्रपति हुनुहुन्छ । यो भनेको सिंगो तनहुँ जिल्लाकै लाागि गौरवको कुरा हो । यो निर्वाचन क्षेत्रका मतदाता त त्यसमा झन् बढी गौरवान्वित हुनेमा पर्नु भयो । तर यही क्षेत्रमा उपनिर्वाचनको मतगणना नै नसकी कांग्रेसका उम्मेदवारले हार स्वीकार्नु परेको अवस्था आयो । यो पराजयपछि प्रतिनिधिसभामा संसद्को सबभन्दा ठूलो दल कांग्रेसको सिट संख्या ८८ कायम भएको छ अर्थात् एक सिट घटेको छ । कायम रहेको संख्या ८९ बाट घटेको यो एक सिटले राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकामा कुनै फेरवदल पार्दैन । दोस्रो ठूलो दलको संख्यागत अवस्थामा पनि कुनै फेरबदल आएको छैन । केवल चौथो दलमा एक सिट थपिएको छ । तर यो एक सिट घटबढको राष्ट्रिय सन्देश जस्तो गएको छ त्यो भने गम्भीर छ, राजनीतिमा लामो समयसम्म चर्चा पनि भइरहनेछ ।

तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो ।

तनहुँ मात्रै होइन कांग्रेसको उम्मेदवारी रहेको अर्को क्षेत्र चितवन २ मा पनि गएको आमनिर्वाचनमा प्राप्त मत यो पटक घटेको छ । यो क्षेत्रमा यो पटक विगतको भन्दा मत बढने अपेक्षा थियो तर उल्टो भयो । यसैलाई मध्यनजर गरेर नै सभापतिले प्रारम्भिक प्रतिक्रियामै कांग्रेसका लागि हाल प्रकट भएको जनमत कांग्रेसका लागि चुनौतीपूर्ण अवस्था रहेको भन्ने जानकारी गराउनु भएको हुनुपर्छ ।

सत्ता वा विपक्षी नेतृत्वको अपिल मान्य हुन छाडदैछ भन्ने यो निर्वाचनको अर्को सन्देश हुनुपर्छ । त्यसका उदाहरण बनेका छन । यो उपनिर्वाचनको अन्तिमतिर आयोजित सभाहरूमा नेतृत्वबाट आफ्ना उम्मेदवालाई मतदाताले जिताइदिए आफूले मन्त्री बनाउने, क्षेत्रको विकास निर्माणको जिम्मा लिने घोषणा गरिएको थियो । एक बहालवाला र तीन पूर्वप्रधानमन्त्रीबाट सार्वजनिक समारोहमा व्यक्त गरिएको प्रतिबद्धता सामान्य होइन ।

त्यसबेलाका समाचारको एउटा अंश 
‘तनहुँ १ मा पर्ने डुम्रे बजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तपार्इंहरूले रामचन्द्रजी जस्तै गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा दिइसक्नुभयो । म शेरबहादुर देउवाजीसँगै छु । मन्त्री बनाउने जिम्मेवारी मेरो भएको घोषणा गर्दछु । किनकि प्रधानमन्त्री अहिले म भएको छु । नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ त्यसलाई पूर्णता दिन आफूहरू प्रतिबद्ध रहेका छांै । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो महसुस गरेको अवस्था देखियो । यसलाई तीव्रता दिइनेछ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरूले लिने बताउनु भयो । ‘तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो ।’

यो चुनावमा बहालवाला प्रधानमन्त्री र सत्तासाझेदार दलको यति ठूलो नेतृत्व तहबाट व्यक्त गरिएको यस्तो प्रतिबद्धताले पनि काम गरेन अर्थात् यो क्षेत्रका जनताको मन जितेन । यो प्रतिबद्धतामा देशमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको भन्ने कुरा आए, त्यसलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहने वचन आयो । उम्मेदवारले कबोल्नु भएका विकास निर्माणको जिम्मा आफूहरूले लिने भन्ने घोषणा पनि भयो । तर यता परिणाम भने अत्यधिक ठूलो संख्यामा पराजय भोग्न पर्‍यो । त्यसकारण पनि निर्वाचनको यो परिणाम एउटा उम्मेदवारको हारजितमा मात्रै सीमित नरहेको अवस्था बन्यो ।

कांग्रेसका लागि तनहुँ पराजयका सन्देश अरू पनि हुन सक्छन् । संसद् पुनस्र्थापना भएपछि २०७४ को चुनाव बाहेक २०४८ सालदेखि निरन्तर जितेर आदरणीय नेता पौडेल यो देशको सभामुख, गृहमन्त्री, मन्त्री र पार्टीको कार्यवाहक सभापतिसमेतको भूमिका निर्वाह गरिसक्नु भएको व्यक्तित्व हो ।

कांग्रेसका लागि तनहुँ पराजयका सन्देश अरू पनि हुन सक्छन् । संसद् पुनस्र्थापना भएपछि २०७४ को चुनाव बाहेक २०४८ सालदेखि निरन्तर जितेर आदरणीय नेता पौडेल यो देशको सभामुख, गृहमन्त्री, मन्त्री र पार्टीको कार्यवाहक सभापतिसमेतको भूमिका निर्वाह गरिसक्नु भएको व्यक्तित्व हो । जुन गठबन्धनले उहाँलाई पछिल्लो समय राष्ट्रपति बनायो त्यो गठबन्धनले नै अहिलेका उम्मेदवारलाई मन्त्री बनाउँछौं भनिँदा पत्याइएन । आफ्नो मतबाट राष्ट्रपति जन्माउने मतदाताबाट यो पटक अर्थात् यो उपनिर्वाचनमा पहिले जस्तै सत्ता गठबन्धनको समर्थन रहेका उम्मेदवारलाई किन स्वीकारिएन भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।

यो उपनिर्वाचनमा विगतको भन्दा मत घटेको अवस्था छ जो कांग्रेसका लागि यो पनि एउटा अध्ययनकै विषय हुनुपर्छ । गएको आम चुनावमा गठबन्धनले पाएको मत यो पटक प्राप्त भएन । त्यसबेलाको गठबन्धनमा समानुपातिकतर्फ कांग्रेस २०,१५८, माओवादी ७,३२६ र एकीकृत समाजवादीले ९५० गरी सत्ता गठबन्धनसँग २८,४८१ मत थियो । माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेको अवस्थामा यो मत यता आउनुपर्ने अपेक्षा हुनु स्वाभाविक नै हो । तर मत परिणाम सो अनुसार आएन । पाँच महिना अघिको चुनावमा २५,३६१ मत पाइएको अवस्थामा यो पटक २० हजारको हाराहारीमा मात्रै रह्यो । यो भनेको कांग्रेसको समानुपातिकमा प्राप्त भएको मतमात्र हो । त्यसबेला ६,८८६ मत मात्रै पाएको रास्वपाका उम्मेदवारका पक्षमा भने ३४ हजारको हाराहारीमा आयो ।

आफ्नै दलबाट यसअघि पाए जति मत नपाएको सन्दर्भमा गठबन्धनको मत पनि नपाएको अवस्था पनि अबका दिनमा गम्भीर हुन कांग्रेसका लागि सन्देश नै हो । पछिल्लो महानिर्वाचनमा कांग्रेसको समानुपातिक मत चुहेको आँकलन भएको थियो । त्यसको पाँचै महिनामा भएको अर्को चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिइएका दुई ठाउँमध्ये दुवै गुमेका छन् । स्थिति झन् खराब हुँदै गएको यो अवस्थालाई आत्मसात् गरौं अर्थात् जनअपेक्षाको समुचित सम्बोधन हुने गरी कार्यक्रम ल्याऔं ।