देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोकिएलान् उपेन्द्र ?

देशान्तर

काठमाडौं । ‘चोक्टा खाना गएको के झोलमा डुबी मरी’ भने जस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेका यादव नेतृत्व पार्टीको समर्थनले मधेस प्रदेशमा ‘बेसलेस’ बन्न पुगेको एमालेले पहिलो दल बन्न पुग्यो । तर, जसपा उम्मेदवार भएका प्रदेश र संघमा एमालेले नै कतिपय ठाउँमा विद्रोही उम्मेदवारी दियो कतै असहयोगको नीति लियो । परिणाम अध्यक्ष यादव नै निर्वाचनमा पराजित बन्न पुगे ।

निर्वाचनपछि सत्ता सहकार्यका लागि ओलीकै शरणमा पुगेका यादव त्यसबाट पनि केही राहत पाउन सकेनन् । अहिले फेरि पुरानै गठबन्धनबाट उपराष्ट्रपति आफ्नो पक्षमा पार्न जसपा सफल भएको छ । पार्टी संसदीय दलका नेतासमेत रहेका रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त रहेको बारा २ मा उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न तयारीमा छन् । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ । तर उनलाई तराई मधेस केन्द्रित दलहरू जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारूढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति छन् । यादवलाई रोक्न उनीहरूले उपराष्ट्रपति निर्वाचनमै अर्को उम्मेदवार खडा गरेर विद्रोहको संकेत गरेका छन् ।

उपराष्ट्रपति निर्वाचन अघि तराई मधेस केन्द्रित तीन दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णय गरेका थिए । यो कार्यगत एकता उपनिर्वाचन पनि कायम रहने जनमत तथा लोसपाका नेताहरू बताउँछन् । यद्यपि अहिले जनमत र लोसपा दुवै पार्टीका नेताहरूले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । जसपाका नेताहरू भने बारा २ मा सत्तारूढ दसदलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन् । उपेन्द्रसँग लोसपा नेता राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा उत्रिन चाहेका छन् । नेसपा नेता महेन्द्र यादवसँग पराजित महतो संसद् छिर्न अहिले प्रयासरत छन् ।