काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएकी छन् । मन्त्रिपरिषद्ले मंगलबार गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।
नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन् । राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् ।
उनले भनिन्, ‘राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र । सरकारबाट निस्किसकेको अवस्थामा कुन कुन पार्टी सरकारमाप्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
प्रतिक्रिया