काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।
अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए ।
उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए ।
सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने उनको भनाई छ । जनमत पार्टी सरकारमा यथावत रहेको उनले स्पष्ट पारे । उनले भने, “अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ । यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ? सरकारमा सामेल भएका दलहरु फेरिएका । सरकार फेरिएको छैन । सरकार बदलिएको होइन । हामी त्यही भएर सरकारमा यथावत छौँ ।”
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उनले सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए ।
जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए ।
राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उनको तर्क छ । आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया