स्वीजरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको बैठकमा नेपालका तर्फवाट पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी)ले नेतृत्व गर्नु भएको छ । ५२ औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्द बन्दी सहभागी हुनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा बन्दी सहभागी हुनु भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुन जाने तयारीमा रहेको बेला प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा उहाँको भ्रमण रोक्नु भएको थियो । त्यहि घटनामा आक्रोश जनाउदैँ प्रधानमन्त्रीले मन्त्रीहरुलाई गर्ने व्यवहार ठिक नभएको भन्दै नेकपा एमालेले सरकारबाट बाहिरिंदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।
पूर्वकानुनमन्त्री बन्दिलाई जेनेभास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मणिप्रसाद भट्टराई, संयुक्त राष्ट्रसंघको कार्यालय र अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका स्थायी प्रतिनिधि तथा नियोगका अधिकारीहरुले स्वागत गरेका छन् ।
बैठकमा बन्दिसंगै सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल पनि परिषद बैठकमा सहभागी हुन भएको छ । परिषदले युवा रणनीति २०३० सँग सम्बन्धित छलफल कार्यक्रम आयोजना गरेको थियो । मानव अधिकार परिषदको ५२ औं बैठकमा १२५ भन्दा बढी देशका मन्त्री र विशिष्ट व्यक्तिहरु सहभागी छन् । बैठक फागुन २० गते सम्पन्न हुदैँ छ ।
प्रतिक्रिया