काठमाडौँ– राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपा नेता दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए ।
फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ ।
प्रतिक्रिया