देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको सत्तालिप्सा यथावत्

देशान्तर

काठमाडौं । चुनावको गठबन्धनबाट प्रधानमन्त्री नपाउने निश्चितजस्तै भएपछि एमालेका शरणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्ने बित्तिकै भत्किएर नेपाली कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँतिनुको साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पुरानो पाँचसहितको आठ दलको बैठकले नयाँ गठबन्धन निर्माण गर्ने सहमति गरेका दलहरूले शनिबार नयाँ राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा उभिएका छन् । शुक्रबार नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने र प्रधानमन्त्री कार्यकाल तीन नेताले बाँड्ने निर्णय गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो । तर, नयाँ सरकार गठन गर्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री राष्ट्रपति दुवै आफैंमा राख्न लागेको भन्दै माओवादी एमालेसँग मिल्न पुगेको थियो । यससँगै टुटेको कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि गठबन्धनमा रहेका आठ दल दाहाल नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी हुनेछन् । नयाँ गठबन्धनमा रहेका आठ दलको संंघीय र प्रदेशसभामा झन्डै ३१ हजार मतभारसहित स्पष्ट बहुमत छ । संघीय संसद्मा ठूलो दल रहेको कांग्रेसको १६ हजार २ सय २१, माओवादी केन्द्रको ७ हजार ७ सय ७६, नेकपा एसको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमतको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नाउपाको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ । कांग्रेसबाट उम्मेदवार बनेका नेता पौडेल राष्ट्रपति निर्वाचित हुने निश्चित प्रायः छ ।

यद्यपि एमालेले पार्टी नेता सुवासचन्द्र नेम्बाङलाई मैदान उतारेको छ । नेम्बाङलाई उम्मेदवार बनाउन नचाहेका ओलीले गठबन्धन भत्केपछि भने उनलाई अघि सारेका छन् । नयाँ गठबन्धन निर्माण भएसँगै एमालेले सरकार छाड्ने पूर्वअनुमान गरिएको थियो । तर, सत्तालोलुप एमाले तत्काल सरकार नछाड्ने भएको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले गठबन्धन भत्केको छैन, माओवादीले आफ्नै उम्मेदवारलाई भोट हाल्नेजस्ता कुतर्क गर्दै सरकारमा बस्ने निर्णय गरेको छ । केन्द्रको मात्र होइन प्रदेश सरकारबाट बाहिरनु पर्ने भएकाले एमाले सत्तामा टाँसिरहने संकेत गरेको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाइका छन् ।