काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन् । शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले राजनीतिक खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हामीले एजेण्डाहरुसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रश्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरु पार्टीहरुसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो । सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’
सांसद शर्माले शुक्रबार साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए ।
प्रतिक्रिया