काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन् ।
उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे ।
महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे । ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो। तर, फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरुको भावनासँग म एकदम सहमत छु’, शर्माले भने, ‘त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ। त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडि सारेर जानु बढी उचित हुन्छ।’
महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई राष्ट्रपतिको पद देखाएर अल्मल्याउन खोजेको उनको टिप्पणी छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनको भनाइ छ ।
उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए। संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनको दाबी छ । उनले कांग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको पनि दाबी गरे ।
प्रतिक्रिया