देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लघुवित्तका कारण गरिब झन गरिबीले थला परे : गगन थापा

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्त संस्थाका कारण गरिब झन्झन् गरिबीले थला परेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नेपाल राष्ट्र बैंकले आँखा चिम्लँदा लघुवित्तको सुपरिवेक्षण नभएको जिकिर गरे ।

“अति न्यून आय भएका गरिबलाई त्यो गरिबीको आहालबाट निकाल्ने काम होला भनेको लघुवित्त संस्थाको कारण उठ्नै नसक्ने गरी गरिबहरू थला परेका छन् । अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्न जहाँ जसरी भए पनि ऋण लिने ग्राहकहरू, अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठी कस्ने राष्ट्र बैंक । यही कारणले संकट देखिएको हो,” उनले भने ।

सांसद थापाले मर्कामा परेका व्यक्तिहरूलाई राहत वितरण गर्नुपर्ने र यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग भएको ‘फन्ड’को प्रयोग गर्नुपर्नेमा जोड दिए ।

बदनियत राख्ने लघुवित्तलाई कारबाही र राष्ट्र बैंकले वित्तीय साक्षरता बढाउन भूमिका खेल्नुपर्नेमा उनले ध्यानाकर्षण गराए ।