देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिबारे प्रचण्ड-ओलीको छलफल निष्कर्षविहीन

देशान्तर

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता निष्कर्षविहीन भएको छ । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र ओलीबीच बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो ।

तर प्रचण्ड र ओली आ आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको छ । ‌राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भएपछि ठोस निर्णय हुन सकेको छैन ।

ओलीले पूर्वसहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राखेका छन् । सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’सहमति भएपनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।

कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन् ।