देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पदका लागि शीर्ष नेताहरुको दौडधुप

देशान्तर

राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमालेसहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने गरी चर्चा र छलफल अगाडि बढेको छ ।

सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । कांग्रेस भने विगतको पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति आफूले लिन प्रयासरत छ ।एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन ।

गएको पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ । एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्त्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखिनुभएको छ ।

एमालेकै नेता राष्ट्रपति हुने अवस्था नदेखेपछि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफललाई अगाडि बढाउनुभएको छ । उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको छ । त्यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि दाबेदारीसहित छलफल थाल्नुभएको छ ।

भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा हुनुहुन्छ । यसैले, कांग्रेस, एमालेलगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् । काग्रेसले पनि आन्तरिक छलफल लाई तिव्रता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।