काठमाडौं – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
आज(सोमबार) पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए।
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ ।
सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनसमेत धरमराएको छ ।
एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने दाबी गरिरहँदा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर दाउ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ ।
प्रतिक्रिया