काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व–सभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क गरे । तर, विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो।
उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । उपाध्यक्ष नेम्वाङले संसदलाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहोर्याए ।
संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले औंल्याए । उपाध्यक्ष नेम्वाङले भने, ‘अध्यादेश ल्याउनका लागि जानिजानि संसद् अधिवेशन अन्त्य गर्ने गरिएको छ । यो त अधिवेशन नचलिरहेको अवस्था उत्पन्न गर्न जानी जानी काम गरिएको भयो । तत्काल केही गर्न आवश्यक प¥यो भने पनि अध्यादेश ल्याउने व्यवस्था छ । सरकारलाई दिइएको यो राइट नै हो । तर यो अपवादका लागि हो । सबै काम पार्लियामेन्टबाट गर। मेरो बुझाई मा त एउटा डेमोक्रेटिक गोभरमेन्टले भरसक अध्यादेशमा जान नपरोस् भन्ने सोच राख्न पर्दछ। उसले सबै काम पार्लियामेन्टबाट गर्छु भन्छ। आज १२ बजेसम्म उसको पार्लियामेन्ट चलिराखेको छ । त्यसलाई बन्द गरेर भोलिपल्ट अध्यादेश ल्याउने होइन ।’
उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए ।
भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उधृत गर्दै उनले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने बताए ।
प्रतिक्रिया