काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आर्थिक संकट अहिलेको साझा समस्या भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले आर्थिक संकट समाधानका लागि सबैजना लाग्नुपर्ने बताए ।
“भयानक आर्थिक संकट अहिलेको समस्या हो । यो सबैको साझा समस्या हो । चालु खर्च राजस्वले धान्न सकिरहेको छैन । विदेशी मुद्राको सञ्चिति घटिरहेको छ,” उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आर्थिक संकट मोचनका लागि आफूहरूले विश्वासको मत दिएको उनले बताए । पदको आशक्तिले विश्वासको मत नदिइएको भन्दै त्यसलाई कमजोरी नठान्न समेत आग्रह गरे ।
“विश्वासको मत दिँदा सत्तापक्षका नेतालाई कसैलाई टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने देखिएको थियो । मुलुकको कस्तो दुर्दशा रु विश्वासको मत दिँदा पदप्रतिको आशक्ति होइन,” उनले भने, “प्रतिपक्षीको हार्दिकता थियो । भयानक आर्थिक संकट मोचनका लागि हामीले विश्वासको मत दिएका थियौँ । हार्दिकता हो भन्ने बुझ्नुपर्छ, हाम्रो कमजोरी होइन ।”
उनले आर्थिक संकटका कारण व्यवसायी पनि धरापमा परेको बताए । त्यही कारण आत्मदाहको कुरा आएको भन्दै उनले ‘त्यसले पनि छुँदैन कि क्या हो रु’ भनी प्रश्न गरे ।
नेताहरूलाई उपचार खर्चका लागि पालिकाको सिफारिस नचाहिने तर जनताका लागि चाहिने उनको भनाइ थियो ।
प्रतिक्रिया