देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मतबारे काँग्रेस सांसदको फरक अभिव्यक्ति

बस्नेत-वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक पर्दैन, खतिवडा- सरकारलाई विश्वासको मत दिन हुँदैन

देशान्तर

काठमाडौं – सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव आईरहँदा सांसदहरुले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका हुन् ।

पार्टी संसदीय दलको बैठक बस्नु अघि मंगलबार संघीय संसद भवन परिसरमा पुगेका नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताए । उनले सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै स्थानीय तहमा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने स्पष्ट पारे ।

सांसद बस्नेतले भने, ‘मेरो व्यक्तिगत धारण भन्न खोज्नु हुन्छ भने अहिलेको सरकारको नेतृत्व र काँग्रेस लामो समय गठबन्धनमा सहकार्य गर्दै आएका राजनीतिक पार्टीहरु हुन । अव यो बीचमा तितरवितर भए । र, अहिले फेरी सँगै जाने कुरा उठन थालेको हो । एमाले माओवादी पहिले मिलेर केही समय लडाईमा रहेका दलहरु मिलेर सरकार बनाएको यो अवस्थामा काँग्रेसले समर्थन जनाएछ भने विश्वासको मत दिएछ भने पनि आश्चर्य मान्नुपर्ने छैन । होइन अव ठूलो दलको हैसियतले लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिका धेरै महत्वपूर्ण हुन्छ । बलियो प्रतिपक्ष भएन भने राम्रो पनि हुँदैन । त्यसकारण प्रतिपक्षमा बसेछ भन्ने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन । स्थानीय तहमा सहकार्य गरेकाले सरकारलाई समर्थन जनाउन त्यत्रो ठूलो समस्या छ जस्तो मलाई लाग्दैन ।’

अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।

उनले प्रतिपक्षमै बसेर काँग्रेसले काम गर्दा उपयुक्त हुने दावी समेत गरे । सांसद खतिवडाले भने, ‘हामीलाई हिजो धोका दिएकै हो । हामीले अहिले पनि धोका दिएका छैनौं । हामी सहमतीको राजनीतिमा सबैलाई लिएर जान तयार छौं । तर सधैं धोकाको राजनीतिमा विश्वास गरेर हुँदैन । अहिले हामीले प्रमुख प्रतिपक्षकै रुपमा काम गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।’

काँग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भिर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ ।

उनले विपक्षमै बसेर अघि बढदा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताए । सासद घिमिरेले भने, ‘वर्तमान सत्ता गठबन्धनमा गएर मिल्दा प्रतिपक्षको सुन्यताको समस्या पनि सृजना गर्न सक्छ । त्यसैले समस्याहरु छन हामी कहाँ । यो बीचमा हामीले एउटा राजनीतिक सन्तुलन मिलाएर निर्णय लिने हो । आजको दिनमा हामी विपक्षमै बस्ने सम्भावना पनि छ । अर्कोतिर विपक्षसँग बस्दै गर्दाखेरी हाम्रो जुन स्थानीय तहदेखिको गठबन्धन छ । त्यो गठबन्धन भत्किएर नयाँ किसिमको नयाँ कटूता सृजना हुने सम्भावना पनि छ हिजोको गठबन्धनमा । यसलाई सन्तुलनमा मिलाएर अघि बढने विषयमा गम्भिर भएर हामीले सोचेका छौं । त्यो निष्कर्षमा हामी पुग्छौं ।’

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा छन् भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका छन् ।