देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोवल आईएमई देशकै ठूलो बैंक बन्यो

देशान्तर

काठमाडौं । ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेको छ । शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुवै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाम्रो जिम्मेवारी झनै थपिएको बताएका छन् ।

पुस २५ गते (आइतबार) देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुनेछ । उनले देशकै ठूलो बैंक भएपछि आफूहरुले बैंकिङ क्षेत्रमा करिव १० प्रतिशत हिस्सा लिने बताए । उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको पनि बताए ।

आगामी दिनमा बैंकका सेवा बिस्तार गरी, चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि लगानी दिने बैंकका रुपमा अघि बताए । उनले भने, ‘ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाडौं मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । बैंकिङ क्षेत्रको कुरा गर्दा करिव १० प्रतिशत हिस्सा हामीले लिनेछौँ । बैंक स्थापना भएको १६ वर्षमा हामी नेपालकै सबैभन्दा ठूलो बैंक बनेका छौँ । आउने दिनमा हाम्रो गुणस्तर र सर्भिसलाई चुस्त र दुरुस्त हिसावले अघि बढाउनेछौँ । सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि अघि बढ्नेछौँ ।’

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोवल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४०८ अर्ब रुपैयाँ, कुल कर्जा ३७६ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसावले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना रहनेछन् । ग्लाेवल आईमई र बैंक अफ काठमाण्डु बै‌ंकबीच मर्जरमा जाने सहमति कार्तिक २८ गते भएकाे थियाे ।