देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ महानगरकाे राजश्व सङ्कलनमा वृद्धि

देशान्तर

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए  ।

बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन् ।

बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ ।

जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ ।

भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ ।

सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।

दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।