काठमाडौं – नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति को बन्ने भन्ने बिषयलाई कम प्राथमिकताको विषय बनाउन नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले राष्ट्रपति व्यक्ति मात्रै नभइ प्रवृतिको रुपमा शितल निवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्दा पनि कस्तो बन्ने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
निर्वाचनमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि अर्को गठबन्धन बनाउन नहुने भन्दै उनले सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जानुपर्ने बताए । नयाँ सरकार बनाउन कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्षहरु गम्भीर हुनुपर्ने उनको भनाई छ ।
उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भूल्न नहुने धारणा राखे । कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने शर्माले स्पष्ट पारे।
उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रिया भित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए ।
प्रतिक्रिया