देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड बढ्दो, सरकार सुस्त

देशान्तर

तीन पटक भयावह अवस्था सिर्जना गरेर ६ महिनाअघि मत्थर भएको कोरोना भाइरसको महामारीमा भोग्नु परेका असर कम हुन नपाउँदै मुलुकमा फेरि कोरोना भाइरस (कोभिड—१९)को संक्रमण बढ्न थालेको छ । पछिल्लोएक सातामा मात्रै दैनिकजसो १०० को हाराहारी मानिसमा कोभिड संक्रमण पाइएको छ । संक्रमण पुष्टि भएका क्षेत्रमा सरकारी तवरबाट गरिएको परीक्षणमा भन्दा व्यक्तिगत रूपमा गरिएका परीक्षणमा मानिसमा कोभिड देखिएको हो । समयमै सचेत भएर नियन्त्रणतर्फ नलाग्ने हो भने यसले पुनः भयावह रूप लिएर महामारीको अवस्था सिर्जना नगर्ला भन्न सकिन्न । त्यसैले कोरोनाविरुद्धका सबै उपाय अवलम्बन गर्न र जनचेतना बढाउन ढिलो भइसकेको महसुस भएको छ । तर सरकार ‘कुम्भकर्ण’जस्तै सुतेको अवस्था छ ।

सन् २०२० को मार्च अर्थात २०७७ चैतदेखि सुरु भएको कोभिड— १९ का विभिन्न प्रजाति (भेरियन्ट) को संक्रमण नेपालमा फैलिएको छ । महामारीको पहिलो लहरमा नियमित भेरियन्टको संक्रमण देखिए पनि दोस्रो लहरमा डेल्टा भेरियन्टको संक्रमण देखियो । तेस्रो लहरमा ओमिक्रोन भेरियन्टले महामारी फैलाएकोमा अहिले विभिन्न उपप्रजाति तथा सबभेरियन्टको संक्रमण देखिएको छ । नेपालका लागि सबैभन्दा घातक मानिएको डेल्टा भेरियन्टको संक्रमण अझै कायमै छ भने तेस्रो लहरमा फैलिएको ओमिक्रोनको संक्रमण सबैभन्दा बढी छ ।

अघिल्ला दुई लहरको तुलनामा तेस्रो लहरमा कम मानवीय क्षति भएका कारण त्यसयता सरकारले कोभिड संक्रमण रोकथामका लागि खासै चासो दिएको छैन । आवश्यकता पर्नेले परीक्षण गराउने र संक्रमण पुष्टि भएमा आफैं सचेतता अपनाउनेबाहेक संक्रमण फैलिनबाट रोक्न स्वास्थ्य मन्त्रालय तथा मातहतका कुनै पनि निकाय र सरकारका अन्य निकायहरूले चासो देखाएका छैनन् । एक महिनाअघि छिमेकी देश भारतमा कोभिड संक्रमण बढ्न थालेपछि नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै जनस्वास्थ्य क्षेत्रका जानकारहरूले पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सरकारी निकायले भने यसबारेमा कुनै चासो दिएनन् । फलत हिजोआज दैनिक एक सय हाराहारीमा संक्रमण पुष्टि हुन थालेको छ । शुक्रबार २,१५४ जनाको परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भयो, जुन साढे ४ प्रतिशत हाराहारी हुन आउँछ । यही दरमा संक्रमण बढ्दै गयो भने यसले केही साताभित्रै निकै ठूलो महामारीको रूप नलेला भन्न सकिदैँन । संक्रमितहरू आफैं आइसोलेसनमा बसेका कारण केही राहत मिले पनि परीक्षण दर निकै कम हुँदा अन्य मानिसमा पनि फैलिइसकेको छ कि भन्ने आशंका उब्जेको छ ।

सरकारले कोभिड महामारीलाई लक्षित गरी यसअघि लगाएका सबै प्रतिबन्धहरू हटाइसकेको छ । कुनै पनि क्षेत्रमा रोकावट छैन र शंकास्पद संक्रमितलाई समेत परीक्षण अनिवार्य गरिएको छैन । अघिल्लो लहरमा सरकारी सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी सूचना जारी गरेको सरकारले अहिले न खोप सेवा प्रवाहलाई ध्यान दिएको छ न त कोभिड संक्रमण रोकथामका लागि अन्य उपायहरू नै अवलम्बन गरेको छ । पटकपटकको महामारीका कारण थिलथिलो परेको मुलुकको अर्थतन्त्रमा केही महिनायता सुधार आउन थालेको छ । बन्द रहेका उद्योग प्रतिष्ठान तथा कलकारखाना खुल्न थालेका छन् । बजार तथा व्यवसाय चलायमान हुन थालेका छन् । यही अवस्थामा फेरि बढ्न थालेको संक्रमणका कारण अर्थतन्त्र फेरि नाजुक हुने हो कि भन्ने त्रास बढेको छ ।

खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमामा यसअघि अपनाउने गरिएको सतर्कता र सावधानी पनि अहिले अपनाइएको छैन । जो कोही पनि निर्वाध आवत्जावत गर्न सक्ने अवस्था छ । विमानस्थल र सीमानाकामा देखिएको हेलचेक्र्याइँले संक्रमणको सम्भावनालाई झनै बढाएको छ । नेपालमा हालसम्म कोभिडका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ । ५ सय६४ जना अहिले पनि सक्रिय संक्रमित छन् । संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहे पनि उनीहरूबाट संक्रमण फैलिनसक्ने जोखिम बढ्दो छ । त्यसैले सरकारलेसंक्रमितहरूको उपचारमा सबैभन्दा पहिले ध्यान दिनुपर्नेछ भने संक्रमण फैलिन नदिन विस्तृत योजना तयार पारी कार्यान्वयनमा ल्याउन जरुरी देखिएको छ ।

पछिल्लो समय संक्रमितहरूको स्वास्थ्य जटिल नबन्नुको एउटा मुख्य कारण खोप नै हो । तर, अझै पनि करिबएक तिहाइ जनसंख्या खोपको पहुँचबाहिर रहेका छन् । सरकारले हालै ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन थाले पनि यो कार्यक्रम सहरी क्षेत्रमा मात्रै केन्द्रित देखिएको छ । सहरी क्षेत्रमा मात्रै नभई देशभरका बालबालिकालाई जतिसक्दो छिटो खोप उपलब्ध गराउनु आवश्यक छ ।