देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमण दर ४ प्रतिशत नाघ्यो

देशान्तर

काठमाडौँ । कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बुधबार ४ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र रूपमा वृद्धि हुन थालेपछि महामारीको जोखिम पनि बढेको छ । असार १ यता सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणा बढेको छ भने संक्रमण दर साढे ६ गुणाले वृद्धि भएको छ । असार १ मा कोभिडको दैनिक संक्रमण दर ०.६४ प्रतिशत रहेकामा बुधबार दैनिक संक्रमण दर ४.१४ प्रतिशत पुगेको छ । असार १ मा ८७ जना सक्रिय संक्रमित रहेकामा बुधबार बढेर ४ सय ७१ पुगेको छ ।

सरकारी अधिकारीहरूका अनुसार पछिल्लो समय भारतमा कोभिड संक्रमण उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विभागका अनुसार बुधबार विभिन्न नाका हुँदै भारतबाट आएकामध्ये १९ जनामा संक्रमण देखिएको छ । सरकारी अधिकारीहरूले भारतमा बढी संक्रामक मानिएको ओमिक्रोनको सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार गत मंगलबार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा २ वटामा ओमिक्रोनको ‘बीए.५’ सबभेरिएन्ट पाइएको छ । यस्तै २८ वटा नमुनामा ओमिक्रोनको बीए.२’ सबभेरिएन्ट र दुईवटा नमुनामा ओमिक्रोनको ‘बीए.१’ सबभेरिएन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार प्रत्येक दुई सातामा जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । ओमिक्रोनको अन्य सबभेरिएन्टभन्दा ‘बीए.५’ सबभेरिएन्ट बढी संक्रामक पाइएको छ । ‘बीए.५’ सबभेरिएन्ट पुष्टि भएका दुईमध्ये एउटा नमुना केन्द्रीय डाइग्नोस्टिक प्रयोगशाला र अर्को नमुना बेलहिया नाकामा संकलन गरिएको थियो ।

संक्रमितमध्ये ५ जना बेलहिया नाका हुँदै भारतबाट भित्रिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै मुलुकभर कुल संक्रमितको संख्या ११३ पुगेको छ । त्यसमध्ये ४१.६९ प्रतिशत काठमाडौं उपत्यकामा छन् । बुधबार ललितपुरमा ९ जना र काठमाडौंमा ३८ जनामा कोभिड पुष्टि भएको छ । सोमबारसम्म वाग्मतीमा एक जना र सुदूरपश्चिममा एक जना गरी दुई जना आईसीयूमा र सुदूरपश्चिमकै एक जना भेन्टिलेटरमा उपचाररत छन् । डा. दासले संक्रमण जोखिम कम गर्न खोपको पूर्ण मात्रा लिएर तीन महिना भइसकेकाहरू सबैले बुस्टर डोज लिनुपर्ने र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउनुपर्ने बताए ।