काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा पुगेका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरेका थिए ।सुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै सुरु गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए।
सो अवसरमा पूर्वप्रधानमन्त्री ए वं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफुले पनि त्यसमा सहमति जनाइसकेको बताइन् । कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायतकाे सहभागी रहेकाे थियाे ।
प्रतिक्रिया