काठमाडौं – मण्डनदेउपुर नगरपालिकास्थित गाउँमा अहिले बाँदरको गोठालो बस्नुपर्ने बाध्यता आइलागेको छ । साउन लाग्दै बँदेलको हैरानीले आजित भएका स्थानीयवासीलाई गाउँमा केही दिनदेखि बाँदरको प्रवेशले निकै घाटासमेत व्यहार्नुपरेको छ ।
नगरका अधिकांश वडाका स्थानीय बाँदर आतङ्क थपिँदा बालीको क्षति न्यूनीकरणका लागि वडा कार्यालय धाउन थालेका छन् । नगरका प्रवक्ता डिल्लीप्रसाद आचार्यले केही दिनदेखि स्थानीयवासीको खेतबारीको बाली खाइदिने तथा क्षति पुर्याइदिने गर्दा स्थानीयवासी निकै चिन्तित बनेको बताए । “बाँदरले आतङ्कै मच्चाएपछि नगरका सातवटा वडाका बासिन्दा क्षति न्यूनीकरणको सहयोग माग्न आउनुभएको छ”, उनले भने ।
मण्डनदेउपुरको १२ वडामध्ये ८ र ९ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पुर्याएको आचार्यले बताए । उनका अनुसार पहिलो चरणमा १२ नम्बर वडाका स्थानीयवासीलाई सामूहिक रुपमा बाँदर धपाउने १५ यन्त्र दिइएको छ । आचार्यले भने, “बाँदरको सङ्ख्या त यकिन गर्न सकिएको छैन, तत्काल क्षति न्यूनीकरण गर्नुपर्ने देखिएको छ ।” उनका अनुसार यसअघि करीब दुई दर्जन हाराहारीको सङ्ख्यामा आएका बँदेलले नगरको १ देखि ६ वडासम्मको बालीनाली नष्ट गरेका थिए ।
घटनाक्रम नियाँल्दा जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको देखिन्छ । जसका कारण जङ्गल नजीक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ । पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दाले ३ वर्षदेखि बँदेल र बाँदरले बालीमा पुर्याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् । स्थानीयवासी यमलक्ष्मी थपलिया भनिन्, “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।
” यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । उनीहरु जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि २ वर्ष भयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ”, एक स्थानीयवासीले भने, “नगरप्रमुखलाई पटकपटक भेट्दा आश्वासनमात्र पाइयो ।” नगरप्रमुख महेश खरेल जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको बताए ।
बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगाईं वन जोगाउँदै जाँदा जङ्गली जनावर पनि बढ्दा मानिसका लागि चुनौती बन्दै गएको बताउँछन् । उनी भन्छन्, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायत खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् । सोही गाउँका रामेश्वर बजगाईंको पीडा पनि उस्तै छ । भन्छन्, “२२ रोपनीमा हिउँद र वर्षामा दुई सिजन आलु लगाउँछु, कहिले त आलु टिप्नै पाइन्न ।” स्थानीय शिक्षक तुलाप्रसाद दाहालसँग भने बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव छ ।
उता धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको छ । “दुम्सीले गत वर्ष मेरो एक हजार ५ सय बोट काँक्रो सखापै पार्यो, अहिले पनि अन्य बालीमा क्षति पुर्याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ”, उनले भने । उनका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उखेलेर फाल्ने गर्दछन् ।
उनी भन्छन्, “कहिलेकाहीँ त आगो बालेर दुम्सी भगाउन ओढारमा धुवाँ पठाउने पनि गर्दै आएका छौँ ।” गत साल जेठमा पनौती नगरेको कुशादेवी क्षेत्रमा पनि बाँदर आएर स्थानीयवासीलाई धेरै दुःख दिएका थिए । त्यसो त, काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पुर्याएपछि समाधानतर्फ जान छलफल पनि चलाउन थालिएको छ । जिल्लास्थित संवाद समूहले केही महिनाअघि सम्म विभिन्न स्थानीय तहमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या बढी देखाउँदै आएका थिए ।
डिभिजन वन कार्यालय धुलिखेलका सहायक वनअधिकृत रामकुमार भण्डारी जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा रहेको बताउँछन् । उनी भन्छन्, “ नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।”
भण्डारीका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नबनाए पनि क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको बताए । “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लगेका छौँ”, उनले भने । उनका अनुसार प्राकृतिक रुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
डिभिजन वन कार्यालयका अनुसार बितेको ११ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र पाँचजना घाइते भएका थिए । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते, अन्नबाली क्षति, करिब अढाई सय घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिइएको छ । सरकारको प्रावधानअनुसार कार्यालयले मृतकका प्रतिपरिवारलाई १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिँदै आएको छ ।
प्रतिक्रिया