काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गरेका छन् ।नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टीले कामका आधारमा जनप्रतिनिधिको उचित मूल्याङ्कन गर्ने बताए।
जनताले काम गर्न दिएको मौकालाई उचित उपयोग गरेर देखाउन आग्रह गर्दै नेता सिंहले पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न जोड दिए। उनले अबको स्थानीय सरकारले उत्पादन र रोजगारी सिर्जना गरेर नागरिकलाई वडास्तरमा नै काम गर्ने वातावरण तयार गर्दै उत्पादित वस्तुलाई बिक्रीका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना अगाडि सार्न समेत आग्रह गरेका छन् ।
उहाँले आगामी निर्वाचनमा पनि यही तरिकाले अगाडि बढ्ने भएकाले निर्वाचित जनप्रतिनिधिले सचेत भएर आफ्नो जिम्मेवारी र भूमिकालाई प्रभावकारी बनाउने काममा लाग्न निर्देशनसमेत दिए। उनले भने ,“अब सङ्घीयतालाई बलियो बनाउनका लागि सबै प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर संविधानबाट प्राप्त अधिकारलाई उपयोग गर्ने वातावरण तयार गर्न आवश्यक छ, कांग्रेस पार्टी सधैँं राष्ट्र र जनताको हितमा काम गर्ने पार्टी भएकाले कसैको हल्ला र लहडको पछि लागेर हिँड्ने छैन ।”
कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले निर्वाचनमा पार्टीको नेतृत्वले धेरै सुझबुझका साथ गठबन्धन बनाएर अगाडि बढेकै कारण पार्टीले अहिलेको उपलब्धि हासिल गर्न सकेको बताउँदै त्यसलाई टिकाउन जरुरी रहेको बताए ।
बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले निर्वाचनमा व्यक्ति लडेको नभई पार्टी लडेका कारण त्यसमा निर्वाचित कसैले अहंमता नदेखाई पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न आग्रह गरे । आगामी पाँच वर्षभित्रमा परिवर्तन भएको महसुस हुने गरी काम गर्नसमेत उनले जनप्रतिनिधिलाई आग्रह गरे ।
नेपाली कांग्रेसबाट बनेपा नगरपालिका प्रमुखमा निर्वाचित नगरप्रमुख शान्तिरत्न शाक्यले प्रतिबद्धताअनुसार नै काम अगाडि बढाइरहेको बताए। रातिको समयमा सडकमा हिँड्दा झिलीमिली बत्ती बाल्ने काम, पुण्यमाता खोला खोल्ने काम र काभ्रे एकीकृत खानेपानीलाई छिट्टै वितरण गर्ने चरणमा आफू नेतृत्वको नगरपालिका लागिरहेको उनले बताए ।
प्रतिक्रिया