काठमाडौं । ‘दुःख पाइस् मंगले आफ्नो ढंगले’ भन्ने नेपाली उखान जस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण उनले नेतृत्व गरेको पार्टी विभाजित मात्र होइन वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जनताले ओली र उनको दललाई दण्डित गरेका छन् ।
जनताको जनादेशको अपमान गर्दै व्यक्तिगत स्वार्थ पूरा गर्न सक्रिय ओली निर्वाचन परिणामपछि पनि आफूलाई सुधार र सच्याउने बाटोमा भन्दा पनि आफ्नो कमजोरी छोप्न पार्टीका अन्य नेताहरू माथि डण्डा चलाउन लागिपरेका छन् । पार्टीलाई विधि, विधानभन्दा बाहिर गएर जथाभावी सञ्चालन गर्दै आएका उनले स्थानीय तहको निर्वाचनपछि पार्टीभित्रका फरक विचार समूहका नेताहरूलाई तह लगाउन अन्र्तघातको नाममा कारबाही गर्न थालेका छन् ।
स्थानीय तहको निर्वाचनमा देशका मूल सहरसहित विभिन्न स्थानमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई छाडेर स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधेपछि अन्तरविरोध चर्किएको हो ।
काठमाडौं, पोखरा, बुटवललगायतका स्थानमा एमालेभित्र अन्तर्घात भएको भन्दै पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्नुपर्ने आवाज उठेका बेला घनश्याम भुसालको एउटा अभिव्यक्तिको विषयलाई लिएर अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको हो । तर भुसाललाई कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेभित्रै विरोध चर्किएको छ । अनुशासन आयोग आफैंले कारबाही गर्न नसक्ने र सिफारिस मात्रै गर्ने भएकाले भुसाललाई कारबाहीका लागि सिफारिस मात्रै गरिएको छ ।
पाटी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभिव्यक्ति दिएको, पार्टी कमिटीमा राख्नुपर्ने कुरा सञ्चारमाध्यममा बोलेको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको थियो ।
अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको विषयमा पार्टीभित्र विरोध हुन थालेपछि अनुशासन आयोगले पार्टी नीतिविपरीत कार्य गर्नेहरूको सूची संकलनका लागि सातवटै प्रदेशमा पत्रचार गरेको छ । भुसाललाई कारबाहीको विषय उठेपछि पार्टीका नेता भीम रावलले पार्टी उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।
प्रतिक्रिया