देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाम गठबन्धन सतही चर्चा 


काठमाडौं । हालै सम्पन्न चुनावमा पछारिएपछि प्रतिपक्षी दल एमाले निकट भविष्यमै हुने प्रदेश र संघीय चुनावमा प्राप्त गर्ने परिणामबाट आत्तिएर र सत्ता गठबन्धनका दलहरूबीच पनि आशातीत नतिजा नआएको दलहरूको विश्लेषणबाट निस्किएको ‘वाम गठबन्धन’को चर्चा सतहीमात्र देखिएको छ । स्वयम् गठबन्धनको नेतृत्व गर्ने दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई यस्तो प्रस्ताव नगरेको र प्रधानमन्त्रीको ‘अफर’ पनि नगरेको बताएसँगै चर्चाले मूर्तरूप पाउने देखिँदैन ।

यद्यपि एमालेमै रहेका ओलीले नरुचाउने दोस्रो तहका नेताहरू र माओवादीका दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको सूत्रहरूले बताएका छन् । एमाले विभाजित गरी एकीकृत समाजवादी जन्माएर नेतृत्व गरिरहेका एमालेका पूर्वमहासचिव माधव नेपालले पनि एमालेसँग गठबन्धन गर्ने कुरा कल्पनासमेत गर्न नसकिने भनी बताइरहँदा वाम गठबन्धनको चर्चा चलाउनेहरूले नेतृत्वको स्वीकृतिमा वा निर्देशनमा काम गरिरहेको देखिँदैन । त्यसैले सम्पन्न चुनावको परिणामबाट मात्र राजनीतिक बजारमा यस्तो चर्चा आफैं उत्पन्न भएको विश्लेषकहरूको ठहर छ ।

स्थानीय तहको निर्वाचन पराजित भएपछि एमाले अध्यक्ष केपी ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रसहितका दलसँग फेरि वाम गठबन्धनसहित चुनावी तालमेलका लागि विभिन्न प्रस्ताव र आश्वासन निकटस्थहरूमार्फत यसबीचमा निकै बाँडे । अहिलेको गठबन्धन कायम रहँदा आगामी निर्वाचनमा ओली नेतृत्वको एमालेका अन्य नेताको त परको कुरा उनै ओलीले समेत झापाबाट प्रतिनिधिसभा निर्वाचन जित्ने अवस्था नभएको आकलन गरेका ओलीले एमालेबाट अलग भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचनअघि नै प्रधानमन्त्री बन्न प्रस्ताव गर्नसमेत भ्याए ।

झलनाथ खनाललाई राष्ट्रपतिको लोभ देखाउनुको साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजनका लागि सक्रिय देखिएका छन् ।
निर्वाचनपछिको एक महिनाको अवधिमा ओली प्रयासले सार्थकता पाउन सकेको छैन । आफू निकटहरूलाई कहिले खुमलटार त कहिले कोटेश्वर पठाउँदा सत्ता गठबन्धनमा रहेका माओवादी, नेकपा एससहितका दलले कांग्रेसमाथि केही दबाब बढाउने अवसर पाएका थिए । तर, ओलीको दम्भ र अहंकार कायमै रहेको वर्तमान अवस्थामा एकता र तालमेलका लागि माओवादी केन्द्रसहितका दलहरू तयार नदेखिएपछि ओली आफैंले आफूले कुनै पनि राजनीतिक दल र तिनका नेतालाई प्रधानमन्त्रीको मात्र होइन पार्टी एकता र तालमेलको ‘अफर’ नगरेको दाबी गरेका छन् ।

निर्वाचन परिणामले एमाले कमजोर भएको पुष्टि गरे पनि ओलीले ‘स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको र एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको’ पनि दाबी गरेका छन् । ‘एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन,’ ओलीले दम्भ देखाउँदै थपे, ‘गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धूलोपीठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन् । साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

ओलीको यो भनाइले पनि आगामी निर्वाचनमा वाम एकताका लागि जति माला जपे पनि त्यति सहज नभएको स्पष्ट गर्दछ । त्यसका साथै अघिल्लो निर्वाचनपछि ओलीबाट धोका खाएको माओवादी फेरि उसँग मिलेर अघि बढ्ने पक्षमा छैन । कांग्रेससहितका दलहरूसँग मिलेर निर्वाचनमा जाने र एमालेसहितका अन्य वामपन्थी राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा एकत्रित गर्ने रणनीतिमा देखिएको छ । एमालेसँग चुनावी तालमेल गरेर जाँदा पार्टीका नेता तथा कार्यकर्ता उतै रमाउने फेरि फिर्ता ल्याउन कठिन हुने विश्लेषणमा माओवादी केन्द्र छ । त्यसैले अहिले कांग्रेससँग मिलेर एमालेलाई थप कमजोर बनाउने रणनीति माओवादीले अख्तियार गर्नेछ ।
त्यसका साथै माधवकुमार नेपाल, उपेन्द्र यादवसहितका दलहरूलाई आफ्नै निकट राखेर विस्तारै एमाले बाहेकका वाम पार्टीहरूको केन्द्रमा आफू बन्ने माओवादी रणनीति देखिएको छ । त्यसका साथै नेताल नेतृत्वको एकीकृत समाजवादी पनि ओलीको अहंकारका विरुद्ध खरो रूपमा उत्रिने पक्षमा छन् । ओलीको अहंकारमा कुनै कमी नआएको भन्दै आगामी निर्वाचनमा कांग्रेस, माओवादीसहितका शक्तिहरूसँगै मिलेर जाने पक्षमा रहेको निकटहरूको दाबी छ ।

निर्वाचनअघि नै अहिलेको गठबन्धन टुटाएर वाम तालमेलका लागि विभिन्न शक्तिहरू सक्रिय रहेको निकट नेताहरूले स्विकार गर्दै आएका छन् । तर, अहिले कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र एमालेसँग मिल्न गएको अवस्थामा अबको पाँच वर्षमा उक्त पार्टीको अस्तित्व समाप्त हुने भन्दै नेता तथा कार्यकर्ता मात्र होइन आम जनताको विश्वास जित्न पनि एमालेसँग तालमेलको सम्भावना नरहेको निकट स्रोतको दाबी छ । माओवादी वा अन्य दल एमालेसँग मिल्न जाँदा कांग्रेसलाई निर्वाचनमा केही सिट घाटा लागे पनि उसको जनमत आफ्नै खालको रहेको भन्दै माओवादीका ती नेताले भने, ‘हामीलाई कांग्रेसका नेता तथा कार्यकर्ताले मात्र होइन आम जनताले पनि विश्वास गर्दैनन् । जे गरे पनि एमालेसँग नै मिल्ने भएपछि माओवादीमा बस्नुभन्दा उतै गएर विस्तारै आफ्नो स्थान बनाउँ भनेर कार्यकर्ता उतै लाग्छन् हामी नेता मात्र पार्टीमा बाँकी रहने अवस्था आउँछ । हामी त्यसमा सचेत छौं ।’