देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी जर्नेलको भ्रमणले सनसनी

देशान्तर

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निर्धारित र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका कमान्डर जनरल चाल्र्स ए फ्लिनले अकस्मात गरेको नेपाल भ्रमणलाई लिएर राजनीतिक क्षेत्र गर्माएको छ । नेपालको चारदिने भ्रमणमा आएका जनरल फ्लिन आज (आइतबार) फर्किँदै छन् । उनी आउनुभन्दा एक दिनअघि मात्रै उनको भ्रमणबारे नेपाली सेनाले जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालय र नेपाली सेनाको समन्वयमा उनको भ्रमण तय गरिएको जनाइए पनि अन्तिम समयसम्म भ्रमणलाई गोप्य नै राखिएको थियो ।

अमेरिकी सेनाको विशेष विमानबाट काठमाडौं ओर्लिएका जनरल फ्लिनले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरे । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका फ्लिनले शनिबार माउन्टेन फ्लाइट गरे भने आज नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित स्टाफ कलेजको निरीक्षण गर्दैछन् ।

नेपालले अमेरिकी सहयोग एमसीसी अनुमोदन गरेको तीन महिनाभित्र अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो भने अमेरिकी सैन्य क्षेत्रबाट भएको यो हालसम्मकै उच्च भ्रमण हो । जनरल फ्लिनको भ्रमणले एमसीसी अमेरिकी सैन्य रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ (आईपीएस) को अंग हो भन्नेहरूलाई बल पुगेको छ । यद्यपि नेपाली सेनाले भने दुई देशका सेनाबीच शदीयौंदेखि जारी सम्बन्ध र पारस्परिक सम्बन्धलाई थप बलियो बनाउन जनरल फ्लिनको भ्रमण भएको दाबी गरेको छ । भारत भ्रमणमा आएका प्mिलन त्यही मौका पारेर नेपाल पनि आएको सेनाको दाबी छ ।

अमेरिकी उच्च सैन्य अधिकारीको भ्रमणलाई संसद्मा समेत कुरा उठेको छ । एमालेका भीम रावलसहित केही सांसदहरूले अमेरिकी जनरलको भ्रमणका बारेमा सरकारले संसद्लाई जानकारी गराउन माग गरेका छन् । उनीहरूले एमसीसी अनुमोदन भएपछि अमेरिकी सैन्य अधिकारीहरूको पनि चलखेल बढेको आरोप लगाएका छन् ।
एमसीसी पारित भएलगत्तै अमेरिकी सांसदहरूको टोलीले नेपालको भ्रमण गरेका थिए । नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको वर्षगाँठको अवसर पाएर अमेरिकी सांसदहरू नेपाल भ्रमणमा आएका थिए । दुई साताअघि अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आएकी थिइन् । नेपाल भ्रमणका क्रममा उनले जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेपछि उनको आलोचना भएको थियो ।

अमेरिकाले चीनको गतिविधि नियाल्न नेपाली भूमिको उपयोग गरेको कतिपयको दाबी छ । एमसीसीको बलमा नेपाललाई अमेरिकातिर ढल्काउने र चीनसँग बिच्काउने काम अमेरिकाले गरेको पनि उनीहरूको आरोप छ । सरकारले भने अमेरिकी सहयोग र अमेरिकी अधिकारीहरूको भ्रमणबाट चीनसँगको सम्बन्धलाई कुनै असर नपार्ने र नेपाल एक चीन नीतिप्रति अडिग रहेको बताउँदै आएको छ ।