देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री र राष्ट्रपतिको ‘ललिपप’ बाँड्दै ओली


काठमाडौं । हालै सम्पन्न चुनावमा नराम्रोसँग पराजय भोगेपछि ६ महिनापछि हुने संघीय चुनावमा पनि यस्तै परिणामको पुनरावृत्ति हुने त्रासले आफ्नो कमीकमजोर कहिल्यै नस्वीकार्ने प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली वर्तमान सत्ता गठबन्धन भत्काउन हदैसम्मको प्रयासमा लागेका छन् ।

उनले आफ्ना विश्वासपात्र तथा पार्टीका दोस्रो तहका नेतामार्फत गठबन्धनका प्रमुख घटकहरूमाओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्षस्थ नेताहरूलाई प्रधानमन्त्री र राष्ट्रपतिको ‘ललिपप’ बाँडिरहेको तिनै नेताहरूको अभिव्यक्तिबाट पुष्टि भइसकेको छ । ती नेताहरूले अघिल्लो संघीय निर्वाचनमा झन्डै दुई तिहाइका प्रधानमन्त्री बनाएका यिनै केपी ओलीबाट भोगेको अपमान र दुत्कारलाई यति चाँडै बिर्सेर पदका लागि पछि लाग्छन् भन्ने विश्वास नेपाली राजनीतिले नगरे पनि पदका लागि जस्तोसुकै हत्कण्डा अपनाउने नेताहरू ओलीको ‘ललिपप’मा फस्दैनन् भनेर यकिन गर्न सक्ने अवस्था छैन । केही दिनदेखि सत्ता गठबन्धनका केही शीर्षस्थ नेताहरूको ‘बार्गेनिङ’ र धम्कीपूर्ण अभिव्यक्तिले ओलीको ‘ललिपप’को प्रभाव गठबन्धनमा परिसकेको पनि देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका राजनीतिक दललाई कर्‍याककुरुक बनाउने दाबी गरेको प्रमुख प्रतिपक्षी एमाले र त्यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले चुनावमा शर्मनाक हार भोगेपछि पराजयको मुख्य कारण सत्ता गठबन्धन नै भएको निष्कर्ष निकाल्दै जसरी पनि सत्ता गठबन्धन तोड्ने अभियान थालेका छन् भने त्यसका लागि सत्ता साझेदार दलका नेताहरूलाई प्रधानमन्त्री र राष्ट्रपति पदको ‘अफर’ गर्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुननसकेको र कांग्रेसले अन्य दललाई धोका दिएको भन्दै आफैंबाट धेरै प्रचार गराउन लागिपरेको ओली र उसले नेतृत्वको गरेको एमाले विभिन्न दलका शीर्ष नेतालाई प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म पद बाँड्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा विगतमा जस्तै ठूलो दल बन्ने घोषणा गरेको एमालेले जुन नतिजा ल्यायो, आगामी प्रदेश तथा संघीय संसद्को निर्वाचनमा योभन्दा पनि लज्जास्पद परिणाम आउने आकलन गरेर ओलीले गठबन्धन भत्काउने प्रयास थालेका हुन् ।

आगामी चुनावमा पार्टीलाई जोगाउन ओलीले एमालेबाट अलग भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई राष्ट्रपतिको लोभ देखाएका छन् भने माधव नेपाललाई चुनावी सरकारको नेतृत्वका लागि प्रलोभन देखाउन थालिएको छ । त्यसका साथै, माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्रधानमन्त्रीको लोभ देखाएका छन् ।

गठबन्धनभित्रका नेता तथा कार्यकर्तालाई भड्काएर कांग्रेसबाट अलग गराउने ओलीको एउटा ध्याउन्न छ भने उनले पार्टीका केही नेतालाई वाम एकताको पक्षमा वकालत गर्न लगाएकाछन् । गठबन्धन र चुनावी तालमेलको नामा कांग्रेसले मात्रै लाभ उठाएको, अहिलेको गठबन्धन नै अप्राकृतिक भएको तथा वाम गठबन्धनले मात्रै कम्युनिस्ट कार्यकर्ताको हित गर्ने भन्दै वाम दलहरूलाई उचाल्न ओली विभिन्न स्रोत व्यक्तिहरूमार्फत परिचालन गरेको देशान्तरलाई जानकारी प्राप्त भएको छ । त्यस्तै गठबन्धनमा रहेको अर्को दल जनता समाजवादीलाई पनि ओलीले सरकारबाट बाहिरिन आग्रह गरिरहेको बुझिएको छ । देउवाको सरकारबाट बाहिरिए त्यसपछि बन्ने सरकारमा अहिलेभन्दा धेरै मन्त्रालय दिने र आगामी चुनावमा पनि सहयोग गर्ने ओलीको प्रस्ताव छ ।

यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरिसकेका छन् । भेटघाटमा ओलीले कांग्रेस र माओवादीहरू सधैं धोका दिन्छन् उनीहरूको विश्वास गर्दा अहिले तपाईंहरूले परिणाम भोगिरहनु भएको छ भन्दै सत्ता छाडेर एमालेसँग सहकार्य गर्न आग्रह गरेका थिए ।

जसपाले जनकपुर, गोरखामात्र होइन, विराटनगरलगायतका सबै ठाउँमा धोका पाएको छ । जसपाले विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अध्यक्ष यादवका छोरा अमरेन्द्र यादव पराजित भएको विषयमा ओलीले खेल्ने प्रयास गर्दै आएका छन् ।

त्यस विषयमा यादवले केही बोलेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू प्रधानमन्त्रीको लोभमा नपर्ने र अहिलेको गठबन्धन निर्वाचनसम्म मात्र होइन त्यसपछि पनि मुलुकको आर्थिक विकासका लागि सँगै अघि बढ्ने दाबी गर्दै आएका छन् । तर, २०७४को स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग तालमेल मात्र होइन चुनावपछि एकीकरण नै गर्न तयार भएकाले पनि फेरि पनि त्यस्तै हुने त होइन भन्ने आम मान्छेले आशंकागर्न भने छाडेका छैनन् ।