सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बुधबार नै चितवन पुगिसकेका छन् ।
भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने नेताहरुले बताएका छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।
भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।
यसैबीच शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम वर्षाका कारण केही प्रभावित हुने भएको छ । भरतपुरमा रातिदेखि परेको वर्षाका कारण संयुक्त आमसभा गर्ने स्थान नै जलमग्न भएको छ ।
भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नका लागि मञ्च बनाइएको छ । उक्त मञ्च पनि जलमग्न भएको छ भने कार्यक्रमस्थल पनि डुबानमा परेको छ ।
प्रतिक्रिया