देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको साथ ‘मीटू’लाई

देशान्तर

काठमाडौं ।‘उत्ताउलो गाई बाघले खाई’ भन्ने बूढापाकाको कथन जस्तै भएको छ प्रमुख प्रतिपक्षी नेकपा एमाले । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै त्यसको परिणाम आफ्नो पक्षमा नआउने भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन त्यस पार्टीबाट उम्मेदवार बनेका नेताहरूसमेत जथाभावी बर्बराउन थालेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने स्पष्ट संकेत देखिएपछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसविरुद्ध एमाले खनिन थालेको छ ।

कांग्रेसले अघि सारेको घोषणापत्रलाई आफ्नो पार्टीले अघि सारेका नीति तथा कार्यक्रम नमिलाई सारेको जस्ता अशोभनीय अभिव्यक्ति दिएर उसले आफ्नो असली रूप देखाएको छ ।त्यतिमात्र होइन निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भनेर विभिन्न समयमा विभिन्न अभियोग लागेका नेतालाई मैदान खडा गरेको एमालेलाई अहिले त्यही विषय थप प्रतिउत्पादक बन्न पुगेको छ । जसले गर्दा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिणाम एमालेले यसअघि सोचेअनुसार पनि नआउने निश्चित भएको छ ।

सत्तारूढ राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै अत्तालिएको एमालेले सर्वाधिक चासोको सूचीमा रहेको काठमाडौं महानगरपालिका हाँक्ने उम्मेदवारमै ‘मीटू’ आरोप लागेका नेता केशव स्थापितलाई अघि सारेको छ । त्यसको प्रतिरक्षागर्न एमाले र स्थापित आफैंलाई हम्मे पर्दै आएका बेला काठमाडौंको धुम्बराईस्थित नेसनल कलेजमा आयोजित कार्यक्रममा सहभागीहरूले मीटूबारे लागेको आरोपमा गरेको प्रश्नमा स्थापितको जवाफ र व्यवहारले काठमाडौं महानगरपालिकामा एमाले पराजित हुँदैछ भन्ने स्पष्ट संकेत गरेको छ ।

कार्यक्रममा प्रस्तोता भावना राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापित जंगिएका थिए । ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन’ भन्ने स्थापितको भनाइले उनी थप विवादमा तानिएका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई त्यही काम गर्ने एक महिला कर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्ज्वला महर्जनले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । तर त्यो प्रमाणित भने भएको छैन । लामो यो विषय सेलाएको थियो । उनी प्रदेश सांसद हुँदा पनि यो विषय उठेको थियो । कुनै न कुनै विषयमा विवादमा आइरहने स्थापित बागमती प्रदेशमा भौतिक पूर्वाधारमन्त्री हुँदा पनि उनी विवादमा परेका थिए । मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा परेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरेको थियो । स्थापित विवादित हुँदाहुँदै एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा टिकट दिएको थियो ।

मेयरको उम्मेदवारी दिएकै दिन उनलाई मीटूबारे प्रश्न सोधिएको थियो । त्यसदिन उनले विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै हलुका जवाफ दिएर तर्केका थिए ।काठमाडौं महानगरपालिकाको मेयरमा स्थापितलाई टिकट दिँदै गर्दा महिला हिंसाप्रति एमाले जिम्मेवार नभएको टिप्पणी गरिँदै आएको छ । यसबारेमा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन ।तर, सोही विषयमा उनले व्यक्ति गरेको अर्को धारणाले स्थापित थप अप्ठ्यारोमा परेका मात्र छैनन् उनलाई कारबाही गर्न विभिन्न संघसंस्थाले माग गरेका छन् ।

काठमाडौंका पूर्वमेयरसमेत रहेका स्थापितलाई २५ वर्षपछि एमालेले टिकट दिएपछि पार्टीभित्रकै नेता र कार्यकर्ताहरूले पनि प्रश्न उठाएका छन् । उनको अस्थिर स्वभाव र भावलाई पार्टी कार्यकर्ताहरूले प्रश्न उठाइरहेका थिए । पोखरा महानगरपालिकामा दीपक पौडेललाई उम्मेदवार बनाउँदा सामाजिक सञ्जालमै विरोध भएको थियो । त्यतिबेला एमालेले मेयरको टिकट नै अर्कालाई दिएको थियो । तर काठमाडौं महानगरपालिकामा भने एमाले मौन बसेको छ । यसले एमाले कुन नैतिकता, राजनीतिक सिद्धान्त र आधार लिएरअघि बढ्छ भन्ने स्पष्ट भएको छ ।