देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनलाई जिताउने कांग्रेसको अभियान

देशान्तर

काठमाडौं । सत्तागठबन्धनको नेतृत्वकर्ता मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन परिणाम गठबन्धनका उम्मेदवारको पक्षमा पार्न सम्पूर्णरुपमा जुटेको छ ।

लोकतन्त्र दिवसका दिन स्थानीय तहलाई बलियो बनाउँदै सुशासन र समृद्धिका आधारसहितको घोषणापत्र जारी गरेको कांग्रेसले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएको छ । गठबन्धन र पार्टीभित्रको गुटगत विवादका कारण केही स्थानीय तहमा परेको बागी उम्मेदवारी फिर्ता गराएसँगै कांग्रेस नेताहरू मतदाता केन्द्रित भएर कार्यक्रमहरू अघि बढाएका छन् ।

सभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समिति पछिल्लो दिनमा नियमित जस्तै पार्टी कार्यालयमा बैठकमा जुटेको छ ।सहमहामन्त्रीहरूलाई निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्रदेशमा खटाइएको छ ।

पूर्वसहमहामन्त्री एवं पार्टी प्रवक्ताको नेतृत्वमा रहेको प्रचार समितिले विभिन्न उपसमितिहरू गठन गरेर जिम्मेवारी बाँडफाँड गर्नुको साथै नेता तथा कार्यकर्ता परिचालनमा खटाएका छन् ।
भ्रातृ संघ, शुभेच्छुक संस्था, जिल्ला सम्पर्क,विदेश स्थित जनसम्पर्क समिति, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय रआचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ । निर्वाचनका लागि ७ वटा प्रदेश र ७७वटै जिल्लामा काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि कांग्रेसले खटाइसकेको छ ।

पार्टीको नीति र निर्देशन विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको कारबाही गर्दै कांग्रेसले पार्टी मातहतका सबै निकायलाई निर्वाचनमा परिचालित हुन निर्देशन दिएको छ । त्यसको अनुगमनको व्यवस्था गरेको कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूबीचको सहमतिअनुसार संयुक्तसभाको तयारीमा पनि कांग्रेस जुटेको छ ।