देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेललाई भुँइकटहर बालेन र अटेरीलाई लौरो चिन्ह

देशान्तर

निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको हो ।

उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिन्ह वितरण भएको हो ।

कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी उठेकाहरु स्वतन्त्र रुपमा उम्मेदबार हुँदै चुनावी मैदानमा रहेका छन् । करिब १ लाख ५० हजार मनोनयन दर्ता गर्ने मध्ये १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिन्हमध्येबाट प्रदान गरिएको छ ।

आयोगले स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको जस्ता निर्वाचन चिन्ह वितरण गरिएको अर्यालले बताउनुभयो ।

स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिन्हहरूको सूची छ त्यही सूची अनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिन्ह वितरण गर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारले भने दलकै चुनाव चिन्ह पाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी र नेकपा एकीकृत समाजवादीले देशैभरि आफ्नो निर्वाचन चिन्ह पाएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिन्ह पाएका छन् । उनीहरूको निर्वाचन चिन्हको क्रम गत संसदीय निर्वाचनमा पाएको समानुपातिक मतको सख्याका आधारमा तय गरिने व्यवस्था छ ।

गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि भाग नलिएका दलहरूले पनि आफ्नो चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । ती दलहरूले पेस गरेको सङ्गठनात्मक विवरणका आधारमा सङ्गठन रहेका जिल्लामा आयोगले निर्वाचन चिन्ह दिने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेकै चिन्ह प्रदान गरिने व्यवस्था गरेको छ । तर, दुई वा त्यसभन्दा बढी उम्मेदवारले एउटै चिन्ह रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम बनाएको थियो ।

भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन् ।
उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।
यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् ।

भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा ९माओवादी केन्द्र०लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।
उनले विपीको आदर्श र भरतपुरमा रहेका कांग्रेसीजनको निष्ठालाई अंगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।

अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुइँकटहर चिह्न लिएर सहभागी हुने भएका छन् ।

यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित र्यापपर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो ।

धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् ।
प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् ।