देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

देशान्तर

सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

बुधवार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ १ गतेदेखि शनिवार र आईतवार दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

सरकारले जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० सम्म कायम गर्ने निर्णय पनि गरेको छ ।

सरकारले भारतको नयाँ दिल्लीमा हुने राइसेना डाइलक २०२२ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै, खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोगको आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि गरेको छ ।

सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।