देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय परिचालन समितिको बैठक बस्दै

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बुधबार बस्दैछ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बस्ने तय भएको हो। बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उमेदवारी दर्ता नभएका स्थान र पार्टीको तर्फबाट स्वतन्त्र तथा वागी उम्मेदवारी परेका तहहरूमा जिल्लासँग समन्वय गरेर फिर्ता लिने प्रयास गरिने उनले बताए।

बैठकमा निर्वाचनको परिस्थिती र कार्यनीतिबारे छलफल हुने परिचालन समिति मातहत आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलपछि उत्पन्न परिस्थितिबारे छलफल हुनेछ।

चुनावी तालमेलपछि नेपाली कांग्रेसका जिल्ला तहको नेता कार्यकर्ता सबैभन्दा धेरै रुष्ट र आक्रोशित भएका छन् । रुष्ट कार्यकर्ताको व्यवस्थापनका लागि शीर्ष नेताहरू जिल्लामा खटिने तयारीमा रहेको सहमहामन्त्री पाण्डेको भनाइ छ।

परिचालन समितिको मातहतमा रहेर काम गर्ने गरी समितिका सातवटा उपसमिति गठन गरिएको छ। परिचालन समितिका संयोजक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।