कर्णाली । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए ।
आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी आए लगत्तै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।
आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
प्रतिक्रिया