देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युतीय कारोबारमा ठगीको गुनासा बढे – राष्ट्र बैंक

देशान्तर

काठमाण्डौँ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार रु २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो ।

कारोबार तथा भुक्तनीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोडमा आधारीत भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ । आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ ।

चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासर्वड तथा ओटिपी विभिन्न वहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यस बारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।

केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी ईन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगी बाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।