देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले माग्यो ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण

देशान्तर

काठमाडौँ — नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो रु लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ ।

हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र्र बैंकले बैंकहरुसँग मागेको छ ।

सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।

खासगरी पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको स्रोतले बताएको छ । ‘हरेक दिन बैंकहरुबाट ठूलो परिमाणमा निक्षेप बाहिरिएको देखिन्छ । तर, त्यो कहाँ गयो भन्ने स्रोत भेटिँदैन,’ स्रोतले भन्यो, ‘त्यस्ता शंकास्पद गतिविधि रोक्न पनि उक्त विवरण माग गरिएको हो ।’