देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेनिस ला लिगा : बिल्बाओ र स्पान्योलको बराबरी

देशान्तर

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओ र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्पान्योलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बिल्बाओले १० खेलाडीमा समेटिएको स्पान्योलसँग अंक बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा स्पान्योलका लागि राउल डे टोमसले गोल गरे । बिल्बाओका इनाकी विलियम्सले बराबरी गोल फर्काए । राउलले ३३औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थिए । डिबक्सभित्र बिल्बाओका मिकेल भेसगाले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई राउलले सदुपयोग गरेका थिए ।

बिल्बाओले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो । ५२औं मिनेटमा इनाकीले इनीगो लेक्वेको पासमा बराबरी गोल गरेका थिए । खेलको अन्तिममा स्पान्योलका राउल डे टोमस रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

५४ प्रतिशत बल पासेसन राख्न सफल बिल्बाओले २३ वटा पोस्ट प्रहार गरेपनि जित निकाल्न सकेन । यता ४६ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले पनि १४ वटा पोस्ट प्रहार गरेको थियो । स्पान्योलका डिएगो लोपेज ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै बिल्बाओ सातौं स्थानमा छ । १० खेलमा चार जित, पाँच बराबरी र एक हार खेपेको बिल्बाओको १७ अंक छ । ११ खेल सकेको स्पान्योल १४ अंक सहित १०औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा भिल्लारियल र काडिजले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै १२ अंक बनाएको भिल्लारियल १२औं नै स्थानमा छ । आठ अंक बनाएको काडिज १७औं स्थानमा छ ।

अर्को खेलमा यसअघि रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले इल्चेलाई १–० गोलले हरायो । घरेलु मैदानमा अलाभेसलाई जिताउन मामाडोउ लाोउमा एनडियले ४७औं मिनेटमा गोल गरेका थिए । जितसँगै अलाभेस १६औं स्थानमा उक्लिएको छ । अलाभेसको १० खेलबाट नौ अंक पुगेको छ । पराजित इल्चे १० अंक सहित १५औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।