काठमाडौं – सोमबार र मंगलबार निरन्तर ओरालो लागेको शेयर बजारमा नेप्से परिसूचक बुधबार दोहोर अंकले बढेको छ। आज ६०.५६ अंकले बढेर २५ सय ७१.६६ विन्दुमा अडेको छ। नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। आज २१७ कम्पनीको ६१ लाख १ हजार कित्ता शेयर २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। वित्त समूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत बढेको छ। जलविद्युतको ४.३१ प्रतिशतले बढेको छ। यस्तै,अन्य, विकास बैंक, होटल तथा पर्यटन, व्यापार समूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। बाँकी अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको छ।
तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मैलुङ खोला जलविध्युत कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया