काठमाडौं । आगलागीको कारण ध्वस्त भएको नेबिको बिस्कुट उद्योग पुनः सञ्चालनमा आएको छ । आगालागी भएको डेढ महिनामा बुधबारदेखि सो प्लान्ट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको हो ।
काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए । आगलागीबाट धेरै क्षति भएपनि छोटो समयमा नै उद्योग पुनः सञ्चालमा ल्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।
नेबिकोका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराई आगलागी हुनुभन्दा अगाडी दुईवटा प्लान्टबाट दैनिक २० देखि २२ टन विस्कुट उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब दैनिक १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको बताए ।
नेबिकोले बालाजु प्लान्टमा आगलागी भएसँगै कम्पनीले भैरहवामा रहेको प्लान्ट २४ सै घन्टा सञ्चालमा ल्याइएको जनाएको छ । कम्पनीले २०७४ सालमा भैरहवामा बन्द भएको एक उद्योगलाई खरिद गरी सोही स्थानमा प्लान्ट सञ्चालन गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले बालाजुमा रहेको प्लान्टबाट पूर्ण क्षमतामा उत्पादन सुरु गरेर आगामी माघ महिनामा हेटौंडामा नयाँ प्लान्ट स्थापना गर्ने जनाएको छ । हेटौंडामा स्थापना हुने नयाँ प्लान्ट बालाजुको भन्दा ठूलो हुने जनाएको छ ।
कम्पनीका उत्पादन देशका ७७ वटै जिल्लामा पुग्दा बर्षमा करिब डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको नेबिकोले बिस्कुट, कुकिज, सेरल्स, कन्फेक्सनरीलगायत करिब ७० प्रकारका उत्पादन गर्दै आएको छ । २०२१ सालमा बालाजु औद्योगिक क्षेत्रमा पहिलो बिस्कुट उत्पादन गर्ने कम्पनी बनेर नेबिको बिस्टुले उत्पादन सुरु गरेको थियो ।
प्रतिक्रिया