काठमाडौँ – आर्थिक वर्ष २०७७– ७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु निर्यात बढेर १२१ अर्ब २५ करोड पुगेको उल्लेख गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो पोलिष्टर तथा अन्य, जुटका सामान, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरी आर्थिक वर्ष २०७७- ७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु १३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९।९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम।एस। बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७-७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई रु १२६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।
प्रतिक्रिया