काठमाडौं – नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे ।
‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटक पटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन,’ रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।
कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो । ‘फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको अर्थ हुँदैन, त्यसैले यसबारे पनि गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,’ रावलले भने । रावल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी एमालेको आन्तरिक विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेका छन् ।
प्रतिक्रिया