चितवन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान दुबैलाई धरापमा पारेको बताएका छन् । नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले आज ९बुधबार० चितवनमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमा बोल्दै उनले संविधान, लोकतन्त्र र संघीयता जोगाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।
‘देशमा सरकार छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनीतिक तरवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके । त्यसैले तत्काल राजीनामा दिनुपर्छ ।’ सिंहले नेपालमा लोकतन्त्र जोगाउन कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए ।
‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैं महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो,’ उनले भने, ‘राणाशासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।’
सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सीमित गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको आरोप थियो । लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्नुपर्नेमा अहिले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनले बताए । पार्टीको १४ औं महाधिवेशशन निर्धारित समयमा गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया