काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा उपस्थित वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए ।
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने बताए ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने नेता पैडेलको भनाई छ ।
प्रतिक्रिया