देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासँघको निर्वाचन समिति गठन

देशान्तर

काठमाडौँ । नेपाल पत्रकार महासँघले आफ्नो नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया सम्पन्न गर्न पत्रकार कपिल काफ्लेको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ताहरु अरुण पौडेल, हरिन्द्र राई, विष्णुमाया भुषाल, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र सचिव भक्तिराम घिमिरे रहेको महासँघले जनाएको छ ।

समितिले महासँघको केन्द्रीय समितिसँगको परामर्शमा विधान बमोजिम समयभित्र निर्वाचन मिति तोक्ने, निर्वाचन सञ्चालन कार्यविधि बनाउने र प्रदेश तथा शाखामा गठित निर्वाचन समितिलाई अनुगमनसमेत गर्नेछ । महासँघको नयाँ नेतृत्व चयनको मिति तय हुन बाँकी छ । महासँघको २६ औ महाधिवेशन भने आगामी फागुन ४ र ५ गते काठमाडौंमा हुनेछ । महाधिवेशनको ३० दिन भित्रमा चुनाब गरिसक्नुपर्ने बैधानिक ब्यवस्था छ । महासँघको केन्द्र, प्रदेश र शाखा गरी तीन वटै तहमा एकै दिन चुनाव हुनेछ । चुनावमा सबै साधारण सदस्यले मतदान गर्न पाउनेछन् ।

यसअघि पार्षदहरुले मात्र मतदान गर्न पाउने ब्यवस्था थियो । यस्तै महासँघले केन्द्रीय महाधिवेशनका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरु, सबै प्रदेशका अध्यक्षहरु, एशोसिएट संस्थाका अध्यक्षहरु, उपत्यकाका शाखा अध्यक्षहरु एवम् पत्रकारिता क्षेत्रका विभिन्न पेशागत संघ संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि रहने महासँघले जनाएको छ ।

महाधिवेशनमा विधानको महासँघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, महासंघका पूर्व केन्द्रीय सभापति एवम् अध्यक्षहरु, केन्द्रीय समितिका सल्लाहकारहरु, निवर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, प्रत्येक शाखा तथा संस्थागत सदस्य संस्थाका अध्यक्षको सहभागिता रहने छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि फागुन ४ गते दिनको १२ देखि ५ बजेसम्म महासँघ केन्द्रीय कार्यालयमा नाम दर्ता गराएर प्रतिनिधि परिचयपत्र लिइसक्नुपर्ने महासँघले जनाएको छ ।

महाधिवेशनको उद्घाटन फागुन ५ गते बिहान ८ वजे शुरु हुने र ११ बजेदेखि बन्द सत्र सञ्चालन हुनेछ । महाधिवेशनमा महासचिवको सँगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा अध्यक्ष, महासचिव र निवर्तमान अध्यक्षको आगामी ३ वर्षे रणनीति सम्बन्धी प्रतिवेदन एवम् विभिन्न समसामयिक विषयमाथि छलफल र निर्णय हुने महासँघका महासचिव रमेश विष्टले जानकारी दिए ।