देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्ध खोप अभियान दोस्रो दिन : २८ हजार ७३२ जनाले खोप लगाए

देशान्तर

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानको देस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताएका छन् ।

खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

पहिलो चरणमा कसलाई लगाइदै छ :
पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ७० हजारभन्दा बढी जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार २० जनाको निधन भइसकेको छ ।

कस्तो असर हुनसक्छ ?
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए ।