काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले पहिलो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६६ रनले पराजित गरेको हो । दाङको लमहीमा १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश २० ओभरमा ५ विकेट गुमाएर मात्र ८८ रन बनायो ।
गण्डकीको लागि सृष्टी पौडेलले सर्वाधिक ३० रन बनाइन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनायो । बागमतीकी बिन्दा कट्वालले सर्वाधिक ३८ रन बनाइन् ।
समुह बीबाट बिहीबार सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । समुह एु बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । यस्तै, समुह बीमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
प्रतिक्रिया